टिमुर खेति प्रबिधि र यसका फाइदाहरु

1
477

टिमुर खेति प्रबिधि र यसका फाइदाहरु

 परिचय

टिमुर २-६ मिटर अग्लो , काडेदार , सुगन्धित ,सानो खालको रुख वा झाडी वर्गको , पतझड वनस्पति हो । पात ४-८ से.मि. लामो , ३-१३ वटा पत्रकहरु भएको हुन्छ। काण्ड र पातको फेदमा  थेप्चा काडाँहरु हुन्छन । पात पलाउने हरेक आँख्लाबाट फूलको छुट्टै हाँगा निस्किएको हुन्छ।यसको भाले र पोथी फूल फरक फरक विरुवामा हुन्छ।  तितो , पिरो र जिब्रो पर्पराउने स्वाद टिमुरको फलमा पाइन्छ। फल एकदमै सुगन्धित हुन्छ। यसको फल पहिले हरियो , पाक्ने बेला रातो र सुकेपछि कालो रङमा  परिणत हुन्छ।

वैज्ञानिक नाम:  Zanthoxylum armatum

मौसम र माटो

नेपालमा प्राकृतिक रुपमा उच्च पहाडी भाग र महाभारत क्षेत्रको ९०० देखि २५०० मिटरसम्म यसको उत्पादन राम्रो पाईन्छ। अन्य बालीको लागि उपयुक्त नहुने भीरपाखा तथा बलौटे र पत्थरिलो माटो( पि.एच् ६.५ देखि ७.० ) सबैभन्दा उपयुक्त हुन्छ।

खेति तरिका

विगतमा प्राकृतिक रुपमा मात्रै पाइने टिमुरको महत्व  बुझेसँगै र राम्रो मुल्य पाउन थालेपछि अहिले  टिमुरको  किसान व्यवसायिक खेतितिर आकर्षित भएको देखिन्छ।

प्रसारण

१. बिउबाट

राम्ररी पाकेका फल सुकाइ निकालेको बिउलाई फागुन-चैत्रतिर , खनजोत गरि तयारी पारिएको नर्सरी व्याडमा छरेर विरुवा निकालिन्छ।एक हेक्टर  जमिनको लागि ५००  ग्राम बिउ चाहिन्छ।

२. डाँठको कटिङबाट

१०-१५ से. मि. लामो छिप्पिएको २-३ वटा आँख्ला भएको काण्ड छड्के काटेर पोलीब्याग वा व्याडमा तेस्रो पारेर रोपिन्छ।३-४ महिनामा रोप्नको लागि तयार हुन्छ ।

बिरुवा रोपन

उपयुक्त समय – साउन भदौ (मनसुन सुरु भएपछि)

बोट बोटको दुरि- १.५ -३ मिटर

खाल्डोको गहिराई- ३० से. मि.

बिरुवा रोपिसकेपछि बर्षको २-३ पटक गोठे मल बिरुवाको वरिपरि राख्नु पर्दछ र गोडमेल गर्नु पर्दछ ।

संकलन र भण्डारण

यसको फल पाकेर रातो भएपछि टिपेर काडाँ पात र डाठहरु हटाएर राम्ररी सुकाउनु पर्छ । सुकेको फललाई बोरामा वा अरु भाडामा राखेर ओभानो ठाँउमा भण्डारण गर्नुपर्दछ।

फाइदाहरु

उपयोगि भाग : फल, बोक्रा, बिउ, पात

टिमुरको धुलो अचार, चट्नी, तरकारी र मासुमा मसलाको रुपमा प्रयोग गर्दा स्वादिष्ट हुने गर्दछ।

टिमुरलाई प्रशोधन गरेर साबुन, दन्तमञ्जन र अत्तरको रूपमा  प्रयोग गरिन्छ।

आयुर्वेदिक प्रयोग

दाँत दुख्ने र खिइने, ज्वरो, हैजा, आँखाको दृष्टि कम हुने,  खुट्टा मर्किंदा, टाउको दुख्ने, पिनास, जुका पर्ने, भोक कम लाग्ने, मधुमेह, उच्च रक्तचाप, कलेजोसँग सम्बन्धित विभिन्न रोग, लेक लाग्ने आदि समस्याको लागि टिमुर प्रभावकारी मानिन्छ।

सम्भावना

सल्यान  टिमुर उत्पादनको लागि एकदमै प्रख्यात जिल्ला हो। आ. ब २०७६/७७ मा सल्यान जिल्लामा मात्र ३ लाख ६४ हजार ४ सय किलो उत्पादन भएको छ भने ४ सय ३० रुपिया प्रति किलोका दरले  बिक्रि भएको पाइएको छ। अन्य खेतिको लागि उपयुक्त नभएको जमिनमा थोरै लगानी र मिहेनत गरेर पनि मनग्य आम्दानी लिन सकिने हुँदा किसानहरुको जीवनस्तरको लागि टिमुरले मुख्य भुमिका खेल्न सक्छ।त्यसैले टिमुर खेतिलाई अझै धेरै व्यवसायिकरण गर्न जरुरी छ।

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here