किवीफल खेति प्रविधि

किवीफल खेति प्रविधि

१. परिचय:
किवीफल लहरामा फल्ने बहुबर्षीय, हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ। किवी फलको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा चिनिएको छ।यो फलको खेती तथा उपभोग दर विस्तार हुदैछ।यसलाई शुरुमा चाईनिजमा गुजबेरी भनिन्थ्यो भने पछि न्यूजील्याण्डको राष्ट्रिय चरा किवीको नामबाट यस फलको नामाकरण कीवी गरिएको हो।नेपालको पूर्वी पहाडी जिल्लाहरुमा धेरै समय अगाडि देखि जङ्गली कीवी फलको बोट घाँसको रुपमा पशुवस्तुहरुलाई खुवाईने गरेको र फल अचारको रुपमा प्रयोग हुदै आएको छ। यस फललाई नेपाली भाषामा ठेकी फल भनिन्छ भने शेर्पा भाषामा फेमियाल्दो भनिन्छ। हाल सम्म बिश्वमा ७६ प्रकारका किवी फलका प्रजातिहरुको पहिचान भैसकेको छ।यस फलको उत्पत्ति स्थल चीनको याङ्गजे नदिको भ्याली हो।

२. महत्व :
किवी फलमा मानव शरीर स्वस्थ रहनको लागि अति उपयोगी खाद्य तत्त्व धेरै परिमाणमा रहेको छ।किवी फलमा पाईने एक्टिनीडिन नामक ईन्जाईमले पाचन प्रक्रियामा सहयोग गर्दछ। यसमा प्रशस्त मात्रामा रेशा पाईने भएकोले पाचन प्रक्रिया तथा आन्द्रामा समस्या आउन दिदैन।मुटु तथा उच्च रक्तचाप,दम र डाईबेटिज रोगीका लागि यो फल अति उपयोगी मानिन्छ। हालको बजार स्थिती विश्लेषण गर्दा सबै फलफूल भन्दा धेरै आम्दानी दिने फल मध्ये किवी फल हो।यो फल रोपेको चौथौ बर्ष देखि नै केहि आम्दानी दिन शुरु गर्दछ र प्रति वोट कम्तिमा पनि सरदर ५० केजी फल फल्दछ।

३. हावापानी :
नेपालको सन्दर्भमा १२०० मीटर देखि माथि २४०० मीटर सम्मको उचाईमा किवी फलको खेती गर्न सकिन्छ।किवी बगैंचा स्थापना गर्नुपर्ने जग्गा धेरै उचाईमा छ भने दक्षिण तर्फ पहाडको मोहडा उपयूक्त हुन्छ।१२00 देखि १६०० मीटर उचाई भएको स्थानमा उत्तर पुर्व फर्केको मोहडा राम्रो मानिन्छ।असिना पर्ने स्थानमा यसको खेती गर्दा असिना अवरोधक नेटको प्रयोगबाट बाली जोगाउन सकिन्छ।
यो फल चिसो हावापानी मन पराउंछ।फागुन चैत्र महिनामा तापक्रम बृद्धि हुदै जांदा कलिलो मुना पलाउन शुरु गर्दछ, मुनाहरुमा फूल फुल्दछ, फल लाग्न सुरु हुन्छ, हागाँहरुको वृद्धि हुन्छ र असोज कार्तिक लागेपछि बृद्धि रोकिन्छ।मंसिर पौष महिनामा तापक्रम घटन थालेपछि यसको पात झर्दछ र सुषुप्त अवस्थामा जान्छ।किवीफलको नयाँ पालुवा पलाउनको लागि चिसो तापक्रम हुनु पर्दछ।हिउँद महिनामा औषत न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र औषत अधिकतम तापक्रम १३ देखि २५ डिग्री सेल्सियस किवी खेतीको लागि उपयुक्त मानिन्छ।बार्षिक बर्षा १५०० देखि २००० मिलिमिटर र ७६ देखि ७८ प्रतिशत सापेक्षिक आद्रता कीवी खेतीको लागि उपयुक्त मानिन्छ।

४. माटो:
किवी फलको जराहरु धेरै गहिरो नजाने जमिनको माथिल्लो सतहमा फैलिने हुँदा जरा बढनको लागि माटो हलुका हुनु पर्दछ।आवश्यक मात्रामा कम्पोष्टमल ब्यवस्थापन गर्न सकेमा सबै प्रकारको माटोमा यसको खेती गर्न सकिन्छ। प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो र सिंचाई तथा निकासको राम्रो प्रबन्ध भएको जमिन यसको लागि उपयुक्त हुन्छ।माटोको पि.एच. 5.5 देखि ६.5 सम्म भएको राम्रो मानिन्छ।

5. किवी फलका जातहरु
5.1 हरियो गुदि भएका
पोथी जातहरु: हेवार्ड,एलिसन,मोन्टी,ब्रुनो र एबोट।
भाले जातहरु: मचुवा र टिमोरी
5.2 पहेलो गुदी भएको: जेस्पिरी गोल्ड
5.3 रातो गुदि भएको: रेड किवीढ(पोथी) र कोहि(भाले)

6. विरुवा रोपने समय
किवी फल बिरुवाको हिउँद महिनामा पात झर्ने स्वभाव भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ।पौष र माघ महिना किवीका बिरुवा रोप्नु पर्दछ।

7. बिरुवा रोप्ने खाडलको तयारी :
किवीफलको बगैंचा स्थापनाको लागि जमिन छनौट गरिसकेछि गरा कान्लाको सरसफाई गरि खनजोत गर्नु पर्दछ। बिरुवा रोप्नु चार पाँच हप्ता अघि ३ फिट लामो, ३ फिट चौडा र ३ फिट गहिरो खाडल खन्नु पर्दछ।खाडल भन्दा आधा भागको र तल्लो आधा भागको माटो छुट्टा छुट्टै राख्नु पर्दछ। बिरुवा रोपनु अघि ४० किलाग्राम राम्ररी पाकेको गोबरमल, ५० ग्राम युरिया, १०० ग्राम डि.ए.पी. र १०० ग्राम पोटास साथै उपलब्ध भए सम्म १ किलोग्राम खरानी खाडल खन्दा निस्केको माटोमा राम्ररी मिसाउनु पर्दछ।खाडल पुर्दा मल मिसाएको माथिल्लो भागको माटो तल र तल्लो भागको माटो माथि राखेर पुर्नु पर्दछ। पछि माटो बस्ने भएकोले खाडल पुर्दा जमिनको सतह भन्दा एक डेढ बित्ता अग्लो बनाउनु पर्दछ र चिनो लगाउन खाडलको बिचमा सिन्को गाडनु पर्दछ।

८. बिरुवा रोप्ने तरिका
किवीफलको बोटमा भाले र पोथी फुल अलग अलग बोटमा पुल्ने भएकोले भाले र पोथी बोटको अनुपात मिलाएर रोप्नु पर्दछ।सामान्यतया ८ वटा पोथीबोटको बिचमा १ वटा भाले बोट लगाउने चलन भएता पनि ५ वटा पोथी बोटको बिचमा १ वटा भाले बोट लगाउन राम्रो मानिन्छ।पहिले भाले बिरुवा रोप्ने र भाले बिरुवालाई बिचमा पारेर पोथी बिरुवा रोप्ने। बिरुवा रोप्दा खाडलको बीचमा जरा नदोब्रिने गरी रोप्नु पर्दछ। माटोले पुर्दा बिरुवाको जोडेको भाग पर्नु हुदैन, रोपिसकेपछि फेदको माटो राम्ररी थिचेर खर पराल वा सुकेको झारपातले छापो हाली दिनु पर्छ। बिरुवालाई दह्रो गरी अड्याउन ६-७ फिट लामो बाँसको भाटोले टेको दिएर हल्का गरी बाँध्नु पर्छ। त्यस पछि माटो भिज्ने गरी पानी हाली दिनु पर्दछ।

९. मलखाद ब्यवस्थापन
किवी बोटको पातको आकार ठुलो, साना र धेरै जरा, छिटो र लगातार बढ्ने तथा धेरै फल फल्ने स्वभाव भएकोले यसलाई प्रशस्त मलखादको आवश्यकता पर्दछ।किवी फलको लागि पहिलो बर्ष प्रति बोट ३० किलोग्राम गोबरमल, १०० ग्राम युरिया, २०० ग्राम डि.ए.पी. र १५० ग्राम पोटास, दोस्रो बर्ष प्रति बोट ३० किलोग्राम गोबरमल, २०० ग्राम युरिया, ३०० ग्राम डि.ए.पी. र ३०० ग्राम पोटास, तेस्रो बर्ष प्रति बोट ६० किलोग्राम गोबरमल, ५०० ग्राम युरिया, ५०० ग्राम डि.ए.पी. र ४०० ग्राम पोटास र चौथौबर्ष देखि ६० किलोग्राम गोबरमल, १.५ किलोग्राम युरिया, १ किलोग्राम डि ए पी र १ किलोग्राम पोटास मल हाल्नु पर्दछ।सबै गोबरमल, डि.ए.पी. ,पोटास र आधा भाग युरिया बिरुवाको फेद वरिपरी खनजोत गरी गोलाकार रिङ्गमा छरेर माटोले पुरी सिंचाई गरी दिनु पर्दछ। बाँकी आधा भाग युरिया असार साउन महिना प्रयोग गर्नु पर्छ।

१०. सिंचाई र निकासको प्रबन्ध
किवीको पात ठुलो जमिनको माथिल्लो सतहमा साना र धेरै जरा तथा काण्ड नरम हुने भएकोले यसको बृद्धि र बिकासका लागि माटोमा उपयुक्त चिस्यान रही रहनु पर्छ साथै बिरुवाको फेदमा पानी जम्न पनि हुदैन । बिरुवा सारे पछि तुरुन्त सिंचाई गर्नु पर्दछ।माघ फागुन चैत बैशाख र जेठ महिनामा सुख्खा हुने भएकोले माटोमा चिस्यानको अवस्था हेरी प्रत्येक हप्ता सिंचाई गर्नु पर्दछ।चैत र बैशाखमा नयाँ पालुवा पलाउने र फूल फूल्ने तथा फल लाग्ने भएकोले सिंचाईको आवश्यकता हुन्छ। असार साउन र भदौ महिनामा बढी पानी पर्ने हुनाले किवी बगैंचामा निकासको राम्रो ब्यवस्था मिलाउनु पर्दछ।

११. गोडमेल तथा बिरुवाको स्याहार सम्भार:
किवीफलको बोटको पात पौष माघमा झर्छ, यस समयमा जराहरु निस्कृय अवस्थामा रहने भएकोले यो गोडमेल गर्ने उपयुक्त समय हो।यस बेला बोट वरीपरीको झारपात हटाएर धेरै गहिरो नहुने गरी खनजोत गर्ने र सिफारिस मात्रामा मल हाली माटोले पुरी छापो हाली सिंचाई गर्नु पर्दछ। यसै गरी असार साउनमा पनि झारपात हटाएर धेरै खनजोत गरी मल हालेर छापो दिनु पर्दछ।यो देखि बाहेक आवश्यकता अनुसार झारपातकव प्रकोप ह्रेरेर बोट वरीपरीको झारपात हटाउनु पर्दछ।

12. किवी बोटलाई थाक्रो दिने
किवी बोट लहरा जाने र थाँक्रो चाहिने भएकोले करिब ६-७ फिट अग्लो भए पछि माथि पट्टी “T” आकारको सिमेन्ट खम्बा वा फलामको जि.आई. पाईप गाडेर कम्तीमा तीन लाईन मोटो तार टाँगि दिनु पर्दछ। यसो गर्दा किवीको लहरा तार माथि फैलने हुनाले फल टिप्न र अन्य ब्यवस्थापनको काम गर्न सजिलो हुन्छ।

13. किवीको तालिम :
बिरुवालाई आवश्यकता अनुसार अकारमा ल्याउनुलाई किवी बोटको तालिम भन्ने बुझिन्छ।

प्रथम बर्ष: किवी छिटो बढ्ने बिरुवा भएकोले पौष माघमा रोपेको बिरुवा असारसम्ममा अग्लो भई सक्छ। शुरुमा एउटा मात्र मुना राखेर फेदबाट पलाएका सबै हाँगा हटाउनु पर्दछ।बिरुवा ६ फिट अग्लो भएपछि मूख्य मुना काटी दिनु पर्दछ।यसरी काटेको ठाँउबाट पलाएका दुई वटा मुनालाई दुई तिर मुख्य हाँगाको रुपमा बढ्न दिनु पर्दछ।

दोस्रो,तेस्रो र चौथो बर्ष : पातको अगाडी फेदबाट कोपिला बढ्न शुरु हुन्छ र यहि मुनालाई फल्न् हाँगाको रुपमा बिकास हुन दिनु पर्दछ।मुख्य हाँगामा प्रत्येक ४० सेन्टिमिटरमा यस्ता फल फल्ने हाँगाहरु बिकास गराई डोरीले तेर्सो गरी बाँधी दिनु पर्दछ।सिधा माथि अकाश तिर बढेका हाँगाहरुमा कम फल फल्ने हुनाले यस्ता हाँगाहरु हटाउने, टुप्पो तिर बटारिएका र बढी हाँगाहरु हटाउनु पर्दछ।

14. किवी बोट काँटछाँट :
किवीफलको बोटको काँटटाँट हिँउद र बर्षामा गरी दुई पटक गरिन्छ।

हिँउदे काँटछाँट : किवीफलको पात पौष माघमा झर्छन् साथै बोट सुषुप्त अवस्थामा जान्छ र यस समयमा अनिवार्य रुपमा काँटछाँट गर्नपर्दछ। पौष माघमा एक बर्ष पुराना हाँगाहरुबाट पलाएका पालवाहरुमा मात्र फूल फुल्ने र फल फल्ने गर्दछ। किवीफलको लहराहरु एक बर्षमा ३-४ मिटर सम्म बढ्ने र फल फल्ने कोपिला हाँगाको फेदमा मात्र पलाउने भएकाले माथिका लामो भाग सबै काटेर हटाउनु पर्छ।हिंउदे काँटछाँट गर्दा बर्ष भरी पलाएका हाँगाको ७५ प्रतिशत भाग हटाउनु पर्दछ। फल फलिसकेका काम नलाग्ने बाङ्गा सुकेका रोगकिरा लागेका हाँगा काटेर हटाई नयाँ फल्ने हाँगाको बिकास गराउनु पर्दछ।

बर्षे काँटछाँट : बिरुवाले प्रशस्त मलजल पाए पछि असार साउन सम्ममा बोटको हाँगा तथा मूल काण्डबाट फूल नफुल्ने धेरै हागाबिगाहरु पलाउछन र यस्ता हाँगाबिगाहरु धेरै भएमा बोट अब्यवस्थित झ्याँगमा परिणत हुन्छ।बर्षा याममा बोटको हाँगा तथा मूल काण्डबाट हलक्क बढेका सप्रियका मोटा र राम्रो देखिने हाँगाहरु पलाउछन यस्ता हाँगाहरुलाई पानी हाँगा वा चोर हाँगा भनिन्छ।यि सबै हाँगाहरुलाई हटाउनु पर्दछ।बाङ्गा, सुकेका, रोगकिरा लागेका हाँगा, टुप्पो तिरका हाँगाहरुलाई पनि हटाउनु पर्दछ।

15. रोग किरा ब्यवस्थापन

किराहरु
पात बेरुवा भुसिलकिरा : पुतलीले पातको माथिल्लो सतहमा फुल पार्छ र लार्भा अवस्थामा कलिला पातहरु, मुना तथा कलिला वा चिचिला अवस्थाको फलको बोक्रालाई पनि क्षति पुर्याउछ। फलको आकारलाई विक्रित बनाउछ।यो किरा नियन्त्रणका लागि साईपरमेथ्रीन २ मिलिलिटर एक लिटर पानीमा मिसाएर स्प्रे गर्ने।नियमित बर्षे काँटछाँटबाट पनि केहि प्रकोप कम गर्न सकिन्छ।
कत्ले किरा : यो किरा धेरै मसिनो, खरानी देखि खैरो रंगको हुन्छ। यसले डांठ, पातको मध्य नशामा र फलको रस चुसि नोक्सान पुर्याउछ।यो किरा नियन्त्रणका लागि रोगर बिषादि 1-1.5 मिलिलिटर एक लिटर पानीमा मिसाएर स्प्रे गर्ने।
फड्के कीरा : यसले मह जस्तो गुलियो पदार्थ निकाल्छ जसले गर्दा सुटी मोल्ड नामक ढुसी पैदा भई पात, डांठ तथा फललाई कालो बनाउछ।यो किरा नियन्त्रणका लागि रोगर बिषादि 1-1.5 मिलिलिटर एक लिटर पानीमा मिसाएर स्प्रे गर्ने।
रोगहरु
जरा कुहिने रोग : यो रोग ढुसीको आक्रमणले हुन्छ।यो रोगले जरा कुहिन गै विरुवा बढ्न नसक्ने, बढि आक्रमण भएमा विरुवा नै मर्ने सम्भावना हुन्छ।पानि जम्ने अवस्था, ‍ओसिलो जमिनमा यसको प्रकोप ज्यादा हुन्छ।पानीको निकास नहुने जमिनमा खेती नगर्ने, माटो उठाई खेती गर्ने। बिरुवा रोप्दा, गोडमेल गर्दा, जरा र फेंदमा चोट पटक लाग्न नदिने।फेंदमा घाउ देखिएमा मेन्कोजेवको पेष्ट लगाउने।
बोट्राईटिस : यो रोग ढुसीको कारणले हुन्छ।खास गरि लहरा बढि भए बोट झांगियो भने वा बाफिलो अवस्था लामो समय सम्म रहयो भने यो रोग लाग्दछ।सुरुमा फलको भेट्नो जोडिएको स्थानमा खरानी रंगको ढुसी देखिन्छ पछि फलमा खरानी खैरो ढुसी फैलिन्छ र आक्रमण बढ्दै गएपछि फल चाउरिन्छ।बोटको पात तथा मुनामा पनि डढाउने लक्षण देखाउंछ। ओसिलो अवस्था श्रृजना हुन नदिनको लागि हिंउद र बर्षामा गरिने काँटछाँट राम्ररी गर्ने।बगैचा सरसफाईमा बिषेश ध्यान दिने।फल लाग्न थालेपछि र फल टिप्नु भन्दा १ महिना अघि ढुसी नाशक विषादि छर्कनु पर्दछ।
थोप्ले रोग : बर्षा र शरद याममा विभिन्न प्रकारका ढुसीको संक्रमण पातमा थोप्ला देखा पर्दछ र पात झर्ने, फलको गुणस्तरमा प्रभाव पर्ने र उत्पादन घट्ने हुन्छ।यस्तो समस्या देखिएमा ढुसि नाशक विषादि स्प्रे गर्ने।

16. फल टिपाई तथा भण्डारण :
किवीफल बिरुवा सारेको ४ बर्षमा पूर्णरुपमा फल्न थाल्छ।फल काटेर हेर्दा बिँया कालो भएको भए फल टिप्न योग्य भएको मानिन्छ।किवीफल कार्तिक मंसिरमा फल छिप्पिएपछि टिपिन्छ।फल टिप्दा हाँगा नभाचिने गरी हात वा फल टिप्ने कैचीले टिप्नु पर्दछ।छिप्पिएको फल टिपे पछि नपाकुन्जेल भण्डारण गर्नु पर्दछ।औलाले छाम्दा गिलो भएपछि पाकेको मानिन्छ र बोक्रा हटाएर खानको लागि प्रयोग गरिन्छ।स्याहार संभार राम्रो भएमा प्रति रोपनी ७५० देखि १००० किलोग्राम सम्म उत्पादन लिन सकिन्छ।

बबि बस्नेत
कृषि अधिकृत, सोलुखुम्बु

प्लाष्टिक मल्चिङ प्रविधि र यसका विशेषता

Babi Basnet
Agriculture Knowledge Center Solukhumbu, Nepal

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X