धानको कालो पोके रोग र व्यवस्थापनका उपायहरु

0
309

 धानको कालो पोके रोग र व्यवस्थापनका उपायहरु

 पृष्ठभूमि:
 धान विश्वको एक प्रमुख अन्न बाली हो| विश्वको लगभग 90%  धान एसियामा उत्पादन र खपत हुन्छ| छिमेकी राष्ट्रहरूको तुलनामा हाम्रो देश नेपालमा धानको उत्पादकत्व निकै कम छ| धानको उत्पादकत्वमा कमी आउनु विभिन्न जैविक र अजैविक तत्त्वहरूमध्ये रोग एक प्रमुख कारक हो, जसले धान उत्पादनमा 10 देखि 15  प्रतिशतसम्म  कमि  ल्याउँदछ| धानवालीमा लाग्ने रोगहरु मुख्यतया  ढुसी, ब्याक्टेरिया, विषाणु र जुकाको आक्रमणबाट लाग्छन्| नेपालमा मरुवा ,खैरो थोप्ले,पातको  फेद डडुवा , पात डढुवा र कालो पोके रोगको प्रकोप बढी छ| यी बाहेक  जिंक (zinc)  को कमीबाट हुने खैरा रोग पनि प्रमुख हो|

परिचय:
यो रोग Ustilaginoidea virens नामक ढुसीको कारणले लाग्दछ| यस रोगलाई नेपाल र भारतमा लक्ष्मी रोग भनेर पनि चिनिन्छ| नेपालमा यो रोग सर्वप्रथम सन् 1964 मा देखा परेको थियो| यो रोग तराई देखि उच्च पहाड सम्म फैलिएको छ| सन् 1984 – 85 मा भक्तपुर जिल्लामा कञ्चन धानमा यो रोगले महामारी रुप लिएको थियो| हरेकवर्ष कालो पोके को प्रकोप बढ्दै गएको पाइएको छ| विशेषगरी हाइब्रिड जातका धानहरु मा यो रोगको प्रकोप  बढी छ| यो रोगले बीउको उमर शक्ति 35 प्रतिशतले घटेको र उत्पादनमा पनि कमी आएको पाइएको छ| यसले गर्दा अन्नको गुणस्तरमा पनि कमी ल्याउनुका साथै धानबालीमा दाना नलागी धान सुक्दै गएको पाइएको छ|

 लक्षण:
यो रोग धानबालीमा दाना लागिसकेपछि देखापर्दछ| रोग लागेको धानको दाना ढुसीको कालो पोको बन्न जान्छ| सुरुमा  ति पोका सुन्तला रंगका हुन्छन् र पछि हरियो कालो रंगमा परिणत हुन्छन्| यस्ता दानामा चामलको सट्टा ढुसीको  सुक्ष्म बिजहरुले भरिएका हुन्छन्  र नराम्रो गन्ध आउँछ| सामान्य अवस्थामा बालीमा केही दाना कालो ढुसीको पोका भएपनि अरु दानाहरु स्वस्थ हुन्छन्| रोगको लागि वातावरण अनुकूल भएमा पुरै वालि नै कालो पोके मा परिणत हुन्छ र बोट सुकेर मर्दछ|

रोग चक्र र वातावरण:
यो रोग सिंचित क्षेत्रमा बढी देखिन्छ| सापेक्षिक आद्रता 90 प्रतिशतभन्दा बढी र तापक्रम 25 देखि 35 डिग्री सेल्सियस हुने ठाउँमा यो रोग फूल फुल्ने बेलामा नै लाग्छ तर बाला निस्किसकेपछि मात्र देखापर्छ |यो रोग बीउ  र हावा बाट सर्दछ| वर्षा बढी सापेक्षिक आर्द्रता र नाइट्रोजनको मात्रा बढी भएको माटो यो रोगको वृद्धिका लागि अनुकूल वातावरण हो|  केही धानका जातहरु जस्तै सावा मन्सुली मा यो रोग बढी लाग्ने भए पनि तिनका विशेष गुणले गर्दा किसानहरुले ति जात नै मन पराउँछन्|

व्यवस्थापन विधि:

  • खेतबारी सफा राख्ने र शुद्ध बीउको प्रयोग गर्ने |
  • कालोपोके ग्रसित क्षेत्रबाट बीउ छनौट नगर्ने|
  • रोग  ग्रसित बीउ, बालिका अवशेषहरुलाई नष्ट गर्ने|
  • कोसेबाली सँग बाली चक्र पद्धति अपनाउने|
  • बारीमा स्थानीय रुपमा पानी नजन्माउने, परस्पर चिस्यान र सुख्खा राख्ने|
  • मलखाद सिफारिस मात्रामा प्रयोग गर्ने नाइट्रोजन मल सिफारिस मात्रा र समयमा भन्दा बढी  नहाल्ने|
  • कालो पोके रोग प्रभावित क्षेत्रहरुमा सजिलै यो  रोग  लाग्ने जातहरु जस्तै  कंचन, IR-43,IR 24  नलगाउने|
  • बिउलाई तातोपानीमा (52 डिग्री सेल्सियसमा) 10 मिनेटसम्म डुबाएर उपचार गर्ने|
  • Bavistin 2-3 ग्राम प्रति लिटर पानीमा मिसाएर बीउ उपचार गर्ने आदि|
    लेखक: अर्जुन न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here