भेंडे  खुर्सानी  खेती  प्रविधी   

भेंडे  खुर्सानी  खेती  प्रविधी

                                                            सिता भट्टराई
                                                     कृषि तथा वन बिज्ञान बिश्वविद्यालय
                                                          रामपुर, चितवन

परिचय    महत्व

भेंडे खुर्सानी उष्ण र शीतोष्ण क्षेत्रहरुमा न्यानो मौसममा खेती गरिने महत्वपूर्ण तरकारी बाली हो। यसको उद्गमस्थल मध्य अमेरिका,  विषेश गरी ब्राजिल मानिन्छ । नेपालमा भने भेंडे खुर्सानी राणाकालमा काठमाडौं उपत्यकामा पसेको अनुमान गरिन्छ । पुर्णरुपमा पाकेको फल,जात विषेश रङ्ग जस्तै रातो, पहेंलो वा सुन्तला रङ्गको हुने भएता पनि नेपालमा हरियो अवस्थामा नै टिप्ने गरिन्छ। भेंडेखुर्सानी पोषिलो फल तरकारी हो । यसमा भिटामिन ए, सी र खनीज लवणहरु प्रशस्त मात्रामा पाइन्छन्। विदेशमा भेंडेखुर्सानी सलादको रुपमा काँचै खाने गरिएतापनि नेपालमा भने तरकारी पकाएर वा अचार बनाएर प्रयोग गरिन्छ । भेंडेखुर्सानीमा पाइने पोषणतत्वहरुको पूर्ण विवरण तलको तालिकामा दिइएको छ।

 

मूल तत्व पोषक तत्व मूल तत्व पोषक तत्व
उर्जा ३१ कि.क्या भिटामिन इ १.५८ एम.जी
कार्बोहाइड्रेट ६.०३ जी भिटामिन के ४.९ μ.जी
प्रोटिन ०.९९ जी इलेक्ट्रोलाइट
कुल चिल्लो पदार्थ ०.३० जी सोडियम ४ एम.जी
रेसा २.१ जी पोटासियम २११ एम.जी
भिटामिन खनिज
फोलेट्स २३ μ.जी क्याल्सियम ७ एम.जी
पाइरिडोक्सिन ०.५१ एम.जी कपर ०.०१७ एम.जी
राइबोफ्ल्याबिन ०.०८ एम.जी आइरन ०.४३ एम.जी
नियासिन ९.९८ एम.जी म्याग्नेसियम १२ एम.जी
थियामिन ०.७२ एम.जी मेन्गानिस ०.११२ एम.जी
भिटामिन “सि” १२७.७ एम.जी फोस्फोरस २६ एम.जी
भिटामिन “ए” ३१३१ क्ष्ग् जिंक ०.२५ एम.जी

 

हावा  पानी    माटो

यसले पिरो खुर्सानी जस्तो उच्च तापक्रम सहन सक्दैन । पिरो खुर्सानीलाई औषत तापक्रम १८—३२ डि.से राम्रो मानिन्छ भने भेंडे खुर्सानीको लागि १८—२२ डि.से. औषत तापक्रम अनुकुल हुन्छ । ३५ से. भन्दा बढि तापक्रम भएमा वानस्पतिक विकास तिब्र हुन्छ तर फलको संख्या र आकार दुबैमा नकारात्मक असर पर्दछ । त्यस्तै गरी फलको बृद्धि विकास हुने अवस्थामा तापक्रम १० डि.से. भन्दा न्यून रहेमा फलको आकार ब्यापक रुपमा घट्न जान्छ । त्यस्तै सापेक्षित आद्रता ५० देखि ६५ प्रतिशत उपयुक्त हुन्छ । फूल्ने र फल्ने अवस्थामा सापेक्षित आद्रता कम भएमा कोपिला, फुल र फलहरु झर्छ र बोटको उत्पादकत्व घट्दछ ।

आकाशे पानीको भरमा खेती गरीने भए ४ देखि ५ महिना भरी समान करिब ६०० देखि १२०० मि.मी पानी पर्ने ठाउँमा यसको खेती राम्रो हुन्छ तर ६०० मि.मी भन्दा कम पानी पर्ने क्षेत्रमा भने सिंचाईको उचित ब्यवस्था गर्नु पर्ने हुन्छ । फूल्ने र फल्ने समयमा सिंचाईको अभाव भएमा फुल र फल झर्छ र परागसेचन प्रकृयामा कमी आई उत्पादन घट्दछ । धेरै किसिमको माटोमा भेंडेखुर्सानीको खेती गरिने भएता पनि पानीको राम्रो निकास भएको दोमट माटोमा उत्तम हुन्छ । पर्याप्त प्रङ्गारिक मल र सिंचाईको ब्यवस्था भए बलौटे माटोमा पनि यसको खेति गर्न सकिन्छ । माटोको पि.एच. मान ५.५ देखि ६ उत्तम मानिन्छ ।

जातहरु

नेपालमा  खेती  गरिने  भेंडे खुर्सानीका  प्रमुख  जातहरु  र  त्यसका  जातीय  गुणको  संक्षिप्त  विवरण।

क्यालिफोर्निया   वन्डर

यो तराई, मध्य पहाड र उच्च पहाडको लागि २०५१ सालमा उन्मोचित जात हो । यसको बोट मध्यम आकारको -७० देखि ७५ से.मी., ठाडो र धेरै पातहरु भएको हुन्छ । यसको फल गाढा हरियो भई टुप्पोमा ३—४ खण्ड परेका हुन्छन् । बेर्ना सारेको ६० देखि ९० दिनमा पहिलो फल टिप्न सकिन्छ र उत्पादन १.२ देखि १.५ टन  प्रति रोपनी हुन्छ।

वण्डरवेल

कृषि सुचना तथा सञ्चार केन्द्रले तराई, मध्यपहाड र उच्चपहाडको लागि सिफारिस यो जात वर्णशंकर जात हो । यसको बोट ८०—९५ से.मी अग्लो हुन्छ । फलको तौल २००—२५० ग्राम र प्रतिबोट १.५—२ के.जी फल उत्पादन हुन्छ । यसमा भाइरस रोग धेरै कम लाग्दछ ।

सागर

यो खुला सेचित जात नेपालमा २०६६ सालमा पञ्जीकृत भएको हो । यो जात तराई र मध्यपहाडमा खेती गर्न सिफारिस भएको छ । बोटको उचाई १०० से.मी को हुन्छ । बेर्ना सारेको ६०—६५ दिनमा पहिलो बाली लिन सकिन्छ ।

एन.एस ६३२

यो वर्ण शंकर जात २०६६ सालमा तराई र मध्यपहाडमा खेती गर्न पञ्जीकृत भएको हो । बोटको उचाई ९०—१०० से.मी को हुन्छ । बेर्ना सारेको ६५ दिनमापहिलो बाली लिन तयार हुन्छ ।

बीउ रोप्ने, बेर्ना सार्ने बाली लिने समय

भेंडे खुर्सानी हिँउ तुषारो नपर्ने तराईका क्षेत्रहरुमा गर्मी, वर्षा र ठण्डी सबै मौसममा लगाउन सकिन्छ भने तुषारो पर्ने र अति ठण्डी क्षेत्रहरुमा गर्मि, वर्षा याममा लगाईन्छ। नेपालका विविध भौगोलिक क्षेत्रहरुमा बाली लगाउने समय र लिने समय यस प्रकार छन्।

तालिका भेंडे खुर्सानी रोप्न बेर्ना सार्ने बाली लिने समय

भौगोलिक क्षेत्र बीउ रोप्ने समय बाली लिने समय
तराई भदौ—असोज पुस—फागुन
मध्यपहाड मा—फागुन(तुषरो पर्ने) वैशाख—असार
भदौ—असोज(तुषारो नपर्ने) मंसिर—जेष्ठ
उच्चपहाड चैत—वैशाख असार—भदौ

 

बिउ तथा रोप्ने तरिका

भेंडे खुर्सानीको बेर्ना नर्सरीमा तयार गरी खेतमा सारिन्छ। माटोको चिस्यान र तापक्रम हेरी बेर्ना तयार हुन ४० देखि ६० दिन लाग्छ। एक रोपनी क्षेत्रफललाई २००० असल बेर्ना आवस्यक पर्दछ।त्यसको सुनिस्चितताका लागि २५०० बेर्ना उत्पादन हुने गरी २०—२५ ग्राम बीउ खसाल्नु पर्दछ । १ मिटर चौडाई र ब्याड राख्ने जग्गाको लम्बाई अनुसार कुल १० वर्ग मिटरको नर्सरी ब्याडमा १०—१० से.मी. को फरकमा २सेमी गहिरो धर्सा बनाई बीउ खसाल्ने। त्यस पश्चात माटोले हलुका सँग पुरेर सुकेको पतिङ्गर अथवा परालले छोपी पानी दिनुपर्छ। साथै माटोको चिस्यान हेरी नियमित रुपमा पानी दिने र रोग तथा किरा बाट बचाउन क्रमस बेभिष्टिन वा रोग र २ ग्राम प्रति लिटर पानीको दरले ब्याड भिज्ने गरी छर्ने । बेर्ना ८—१० से.मी. अग्लो र ४—५ पाते भएपछि सार्न लायक हुन्छन्। बेर्ना उखेल्नु भन्दा ६—७ घण्टा पहिला राम्ररी  पानी  दिई  जरा नउखेलीकन साँझ पख सार्नु पर्दछ । बेर्ना सार्दा बोट देखी बोटको दुरी ४०—४५ से.मी. र ड्याङ देखी ड्याङको/हार देखी हारको दुरी ५५—६० से.मी. हुनुपर्दछ।

जमिनको तयारी मलखाद

पहिलो र दोस्रो पटक माटो पल्टाएर गहिरो खन जोत गर्ने, डल्ला फोर्ने र झारपात जिल्याई अघिल्लो बालीको अवशेष हटाउनुपर्छ। पिरे खुर्सानीको तुलनामा भेंडे खुर्सानीको लागि मलखादको आवश्यकता अत्याधिक पर्दछ। खन जोतकै क्रममा १५०० केजी राम्ररी पाकेको गोबर वा कम्पोष्ट मल माटोमा मिलाउने। अन्तिम जोताईमा आधि भाग अर्थात ४ केजी युरिया, १० केजी डि.ए.पी. र ५ केजी पोटास मल राम्ररी छर्ने। बाँकी ४ केजी युरिया मध्ये २ के.जी. बेर्ना सारेको ४५ दिन अर्थात पहिलो गोडमेलमा र अर्का २ केजी फूल फुलेर फल लाग्ने बेलामा टपड्रेस गर्नुपर्दछ।

सिंचाइ

बेर्ना सारे पछि तुरुन्त पहिलो सिंचाइ दिइन्छ। त्यसपछिको सिंचाइ तालिका माटोको प्रकारमा निर्भर हुने भएता पनि साधारणतया जाडोयाममा १०—१५ दिनको अन्तरमा र गर्मी याम भए ५—१० दिनमा दिइन्छ। ड्याङमा खेती गरिएको भए दुई ड्याङ बीचको कुलेसोमा सिंचाइ गर्नुपर्दछ।

गोडमेल

बेर्ना सारेपछि पहिलो थप मल दिनेबेला सम्म१—२ पटक हल्का गोडमेल गरि माटो खुकुलो बनाउनु पर्दछ।थप मल दिने बेलामा गोडमेल गर्ने, माटो चढाउने र अन्त्यमा सिंचाई गर्नुपर्दछ । त्यसपछि पनि झारपातको प्रकोपहेरी समयसमयमा थप गोडमेल गर्ने।उचित गोडमेल अनि सरसफाईमा ध्यान दिए रोग किराको प्रकोपमा घट्नुका साथै विरुवाले मल खादको राम्रो उपभोग गर्न सक्दछन्।

बालीटिप्ने

बेर्ना सारेको ६० देखी ८० दिनमा फल टिप्न लायक हुन्छ। चारऔँला भेट्नो माथि राखि बुढि औँलाले फलको फेदबाट माथि तिर धकेल्दा भेट्नो सहितको फल सजिलै टिप्नसकिन्छ। टिपेको फल डाली वा प्लाष्टिक क्रेटमा चोट नलाग्ने गरी राख्नुपर्दछ। एउटा बोट बाट १ हप्ताको फरकमा १०—१५ पटक फल टिप्न सकिन्छ।

उत्पादन

उन्नत जातले ८००—११०० केजी प्रति रोपनी उत्पादन दिन्छ भने वर्ण शंकर जातबाट १०००—१५०० केजी प्रति रोपनी उत्पादन लिन सकिन्छ।

उत्पादनोपरान्त कर्महरु

फल टिपे पछि घर ल्याई सफा  चिसो पानीले पखाली छायाँमा ओभाउन दिनु पर्दछ । रोग लागेका, किराले खाएका र स्वरुप बिग्रिएका फलहरु हटाई बजारको दुरी अनुसार डोको, टोकरी, प्लाष्टिक क्रेट वा कार्टुनमा नरम वस्तु माथि नहल्लने गरी राख्ने ।ताजा फल छिटो बजार पु्र्याइ बिक्री गर्नु उचित हुन्छ।

भण्डार

भेंडे खुर्सानीलाई साधारण कोठामा २—३ दिन सम्म राख्न सकिन्छ ।शीत भण्डारमा ७ देखि १० डिसेलसियस सापेक्षित आद्रता ९०—९५ प्रतिशत कायम गर्दा यसलाई १४—२१ दिन सम्म सुरक्षित राख्न सकिन्छ।

रोग किरा व्यवस्थापन

  • थ्रिप्स

थ्रिप्सले रस चुसेर पात माथि तिर दोब्रीएका हुन्छन्। यसरी दोब्रीएर पात सानो हुने हुँदा विरुवाले खाद्य तत्व तथा पानी लिन सक्ने क्षमतामा ह्रास आउँछ । किराको अधिक आक्रमण भएको अवस्थामा पात कालो भइ सुक्न थाल्दछ तथा फल लाग्न छोड्छ।

व्यवस्थापन

  • संक्रमित विरुवाको भागहरु जस्तै पात, फूल तथा फललाई हटाउनुपर्दछ।
  • किरा लागेको भागहरु हटाई खेत बारीलाई सफा राख्नुपर्दछ।
  • निमको दाना बाट निकालिएको ४ प्रतिशत झोल छर्केर पनि ब्यवस्थापन गर्न सकिन्छ।
  • क्लोरोपाइरीफस २ एमएल प्रति लिटर वा एसेफेट १५ ग्राम प्रति लिटर वा इमिडाक्लोरोपीड २ एम एल प्रति लिटरका दरले छर्कने।
  • माइटस्

किराको लाभ्रे तथा वयस्कले भेंडे खुर्सानीको पात, मुना तथा फलको रस चुस्छ जसले गर्दा पात तल तिर दोब्रिन्छ। यसरीपात, फल तथा बोटको आकार सानो हुन्छ तथा पूल र फल झर्छ। उच्च तापक्रम तथा आद्रतासँग यो किराको प्रकोप बृद्धिहुन्छ।

व्यवस्थापन

थ्रिप्सको जस्तै

  • लाही किरा

बच्चा तथा वयस्क लाहीले पातको नसा तथा कलिला पातको रस चुस्ने गर्दछन्। यसको प्रकोपले पातलाई दोब्राउने मात्र नभई भाइरस रोगको पनि सार्दछ।

व्यवस्थापन

    • बालीको निगरानी नियमित रुपमा गर्ने।
    • इमिडाक्लारेापेीड (०५ मिलि प्रति लिटर वा डाएमथेऐट (२मिलि प्रति लिटर छकर्ने)।
  • फलको गभारो

यो किरा राती सक्रीय हुने हुनाले वालीको क्षती पनि रातको समयमा हुन्छ।वयस्कले फल, पूल तथा पातमा ठूलो संख्यामा अण्डा पार्दछ जहा बाट लाभ्रे निस्कन्छ र फल र पात खाएर नोक्सानी गर्दछ।रातीको तापक्रम कम भएको चिसो तथा उच्च आद्रता भएको समयमा यसले बढी क्षती गर्दछ।

व्यवस्थापन

  • किराको वयस्क तथा लाभ्रेलाई टिपेर नष्ट गर्ने।
  • थायोडिकार्ब १ एम एल प्रति लिटर वा कार्बमरील ३ ग्राम प्रति लिटर छर्कने।
  • मेथोमाइलवेट प्रयोग गरी वयस्कलाई पासोमा पारेर किराको व्यवस्थापन गर्न सकिन्छ।
  • १० केजी धानको भुसमा १ केजी गुण वा भेली मिसाई ६ देखि ८ घण्टा सम्म राख्ने र यसरी मिसाइ राखेको मिश्रणमा मेथोमाइल मिसाई स—साना डल्लाहरु बनाई गभारोले आक्रमण गरेको बाली वा जरा नजिक राख्ने। यसलाई रातको समयमा राख्नुपर्दछ।

 

  • जराको जुका

तिन चार बर्ष सम्म एउटै खेतमा गोलभेंडा परिवारका बाली लगाउँदा यो समस्या आउँछ । सुरुमा पात पहेंलिने लक्षण देखिन्छ भने पछि पात सानो हुने, पातको संख्या कम हुने तथा फलको संख्यामा उल्लेख्य कमि आउँछ । संक्रमित बोट उखेलेर हेर्दा जरामा स—साना गिर्खाहरु देखिन्छ जसभित्र निमाटोड हुन्छन्।

व्यवस्थापन

  • सयपत्री, मकै र बन्दा जस्ता बाली लगाएर बालीचक्र अपनाउने।
  • जैविक विषाधी जस्तै निमकोपिना १०० केजी प्रति रोपनीको दरले बेर्ना रोप्नुभन्दा ४—५ दिन पहिले प्रयोग गर्ने।
  • पूराडान २५ केजी प्रति रोपनीका दरले बेर्ना रोप्ने समयमा प्रयोग गर्ने।

 

भेंडे खुर्सानीका प्रमुख रोगहरु

  • बोर्ना ओइलाउने रोग

जमिनको सतह देखि केही माथि बेर्नामा संक्रमण देखिन्छ जसले गर्दा बेर्ना ओइलाई मरेर जान्छ। बेर्ना मुख्य खेतमा सार्दा बेर्नामा चोट पटक लागेको छ भने पनि बेर्ना ओइलाउने समस्या देखिन सक्छ।

व्यवस्थापन

  • कार्बेन्डाजीम १ ग्रामप्र तिलिटर, मेटालेक्जिल २ ग्राम प्रति लिटर वा कपर अक्सीक्लोराइड ३ ग्राम प्रति लिटर वा क्याप्टन १ ग्राम प्रति लि प्रति बोट २५ देखी ३० एमएलका दरले विरुवाको जरामा हाल्ने।

 

  • खराने रोग

सुरुवाती अवस्थामा पातको माथिल्लो भागमा पहेंला धब्बाहरुका रुपमा लक्षण देखिन्छ भने पातको तल्लो भागमा सेतो धूलो जस्तो देखिन्छ जुन पछि पुरै पहेँलिएर पातको तल्लो भागलाई ढाक्छ। संक्रमणको पछिल्लो अवस्थामा पात सुकेर झर्ने सम्म हुन्छ। रोगको संक्रमणको कारण पातको तथा फलको बृद्धि कम हुन्छ फल स्वरुप उत्पादनमा ह्रास आउछ।

नियन्त्रण

माइकोबुटानील १ ग्राम प्रति लि, डिनोक्याप १ एम.एल. प्रति लिटर, एजोजास्ट्रोविन ०.५ एम.एल. प्रति लिटर, वापेन्कोनाजोलविन ०.५ एम.एलं. प्रति लि को दरले प्रयोग गर्ने।

  • भाइरस रोग

भाइरस रोग लाहि र थ्रिप्स किराहरुबाट प्रसार हुन्छ। पात तल तथा माथि तिर दोब्रिन्छ जसको मध्य भागमा पहेंलो धब्बाहरु हुन्छन्। संक्रमण ज्यादा भएमा पात झर्ने, विरुवा होचो हुने तथा फलको गुणस्तरमा ह्रास आउँछ।

व्यवस्थापन

  • नर्सरीमा बेर्ना हुर्काउँदा५०मेस कोनाइलननेटप्रयोगगर्ने।
  • लाहि, माइटस तथा थ्रिप्सको उचित व्यवस्थापन गर्ने।
  • संक्रमित विरुवा तथा विरुवाका भागहरु नष्ट गर्ने।

 

Related Articles

गाउँ फर्कौ युवा- कविता

गाउँ फर्कौ युवा पढीसकी गाउँ फर्कौ बाबु बुढा भए । विचराले हह माले भन्ने दिन गए ।। पसीनाले भिजाइसके खेत अनि वारी । फर्कौ युवा गाउँ अव भयो...

WHY DO FARMERS STILL FOLLOW CONVENTIONAL PEST MANAGEMENT METHODS?

WHY DO FARMERS STILL FOLLOW CONVENTIONAL PEST MANAGEMENT METHODS? Conventional pest management refers to the use of synthetic pesticides against pests. It is the old...

Predators in Biological Control of Pest

Predators in Biological Control of Pest Natural enemies are fundamental for the implementation of Integrated Pest Management (IPM) (Rosen D, 1985).  According to Rice Mahar...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

गाउँ फर्कौ युवा- कविता

गाउँ फर्कौ युवा पढीसकी गाउँ फर्कौ बाबु बुढा भए । विचराले हह माले भन्ने दिन गए ।। पसीनाले भिजाइसके खेत अनि वारी । फर्कौ युवा गाउँ अव भयो...

WHY DO FARMERS STILL FOLLOW CONVENTIONAL PEST MANAGEMENT METHODS?

WHY DO FARMERS STILL FOLLOW CONVENTIONAL PEST MANAGEMENT METHODS? Conventional pest management refers to the use of synthetic pesticides against pests. It is the old...

Predators in Biological Control of Pest

Predators in Biological Control of Pest Natural enemies are fundamental for the implementation of Integrated Pest Management (IPM) (Rosen D, 1985).  According to Rice Mahar...

Negative Impact of Chemical Pesticide

Negative Impact of Chemical Pesticide Development of resistance in insect: Pests have the intrinsic potential to withstand pesticides and avoid lethality. Continuous exposure and...

16 Different Cultural Methods of Pest Control In IPM

16 Different Cultural Methods of Pest Control In IPM The cultural practices aim at either reducing insect population or inoculums potential of pathogens or preventing...
en English
X