आलु बालीमा लाग्ने रोग र तिनका ब्यबस्थापन

आलु बालीमा लाग्ने रोग र तिनका ब्यबस्थापन

धान गहुँ र मकै पछि चौथो स्थान हासिल गर्न सफल बाली आलु संस्कृतिको “बटाटा” शब्दबाट आएको जनाइन्छ र यसै शब्दबाट स्पेनि भाषाको “पटाटा” बनेको विश्वास गरिन्छ । यहि “पटाटा” बाट अङ्ग्रेजी शब्द “पोटाटो” बनेको हो जुन अफ्रिकादेखि एसिया अनि युरोपदेखि अमेरिकासम्म उत्पादन हुदै आएको छ । आलुको वैज्ञानिक नाम “सोलोन ट्युवरोसम” हो । बहुउपयोगि कन्दमुल आलु सदाबहार तरकारी मात्र नभई औषधिय रुपमा पनि प्रख्यात छ । पोषक खाद्य आलुको एक डल्लोमा ११२ क्यालोरि ऊर्जा हुन्छ । आलुमा २०% स्टार्च, २% प्रोटिन, १% खनिज र ८०% पानी हुन्छ । १०० ग्राम आलुको खानयोग्य भागमा २२.९% कार्वोहाइड्रेट, १.६% प्रोटिन, ७४.७% पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, ०.१% क्याल्सियम, ०.०३% फस्फोरस र प्रतिसय ग्राम आलुमा भिटामिन इ ४० आई यु र फलाम ०.७ मिलिग्राम पाइन्छ । आलुलाई भिटामिन सि को महत्वपुर्ण स्रोत मानिन्छ जुन रोग निरोधक जनाइएको छ । त्यसैले यस अत्यावश्यक बालिको खेति गर्दा देखा पर्ने समस्या, रोग, किरा र तीनको ब्यबस्थापन गर्न अत्यन्त जरुरी छ ।

आलु बालीमा लाग्ने मुख्य रोगहरु र तिनको रोकथाम

क) ढुसीजन्य रोगहरु (Fungal Disease)

१)डढुवा रोग
यो रोग ढुसिको कारणबाट हुने हो । यो रोगको फैलावट चिसो आद्र जलवायु भएको समयमा बढी हुन्छ । डढुवा रोग खासगरी २ प्रकारका छन ।

  • अगौटे डढुवा (Early Blight)
    यो रोग अल्टनेरिया सोलानी (Alternaria Solani) नामक ढुसीको कारणले लाग्ने गर्दछ । आलुबालीमा पहाड तथा तराई दुबै क्षत्रमा यो रोग देखा पर्दछ । सुरुवाती अवस्थामा पातमा ससाना खैरा थोप्लाहरु देखा परे पनि चक्र बन्दै पछि ती ठुला हुन्छन र एक आपसमा जोडि पुरा पात डढेर झर्दछन । पछि डाँठ तथा आलुका दानामा पनि यो रोगले आक्रमण गर्न सक्दछ ।

रोकथाम
सर्वप्रथम त स्वस्थ बीउ आलुको प्रयोग गर्ने । कमजोर वा नसप्रेको बालीमा बढी रोग देखिने भएकोले स्वस्थ खेती प्रविधि अपनाउने । ईण्डोफिल एम ४५ को धुलो २ ग्राम प्रति लिटरका दरले पानीमा मिसाइ आलुको पुरै पातमा छर्ने ।

  •  पछौटे डढुवा (Late Blight)
    यो रोग फाइटोप्थोरा इन्फेस्टान्स (Phytopthora Infestans) नामको ढुसीको कारणले लाग्ने गर्दछ । यो रोग आलुबालीका लागी विश्वभर नै प्रमुख समस्याको रुपमा रहेको छ । पातको टुप्पा वा किनारमा सानो खैरो भिजेको जस्तो दाग देखापर्दछ जुन चाँडै बढछ र दागको पछाडी हेर्दा सेतो भुवा जस्तो ढुसी देखिन्छ । यो रोग डाँठ र दानामा पनि लाग्दछ र पुरै बोट कालो भइ मर्दछ । दाना काटेर हेर्दा गुदीमा कालो खैरो धब्बाहरु स्पष्ट देखिन्छन ।
    रोकथाम
    स्वस्थ र रोग अवरोधी जातका बीउहरु प्रयोग गर्ने जस्तै ः टी.पी. एसका विभिन्न जात खुमल रातो २, खुमल सेतो १, जनकदेव, सि.एफ.एम. आदि । शितलहर लागेको समयमा बिहान नलको पानीले सिंचाई गर्ने जुन हल्का तातो भई चिसोबाट बच्न मद्दत गर्दछ । कारवनड्याजिम र मानकोजेव भएको विषादी वा इन्डोफिल एम ४५ को धुलो २–३ ग्राम प्रतिलिटर पानीमा मिसाई ७–१० दिनको फरकमा पुरा बोट भिज्ने गरी स्प्रे गर्ने । अथवा क्रिनोक्सील, रीडोमीलको धूलो १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई १५–२० दिनको फरकमा छर्दा रोग नियन्त्रण हुन सक्छ ।

२) ऐंजेरु (Wart)

यो रोग सिंकाइट्रिअम इण्डोबायोटिकम (Synchytrium endobioticm) नामको ढुसीले गर्दा लाग्दछ । यो रोग लागि सकेपछि यसका जिवाणु माटोमा आलुबाली बिना पनि १५–२० वर्षसम्म बाँच्न सक्दछन । यो रोग लागेको जरा बाहेक डाँठ, त्यान्द्रा, दाना तथा पातमा सेता खटिरा जस्ता लक्षण देखापरी त्यसको अनावश्यक वृद्धि हुन्छ र काउलीको फुल जस्तो आकारमा देखा पर्दछ । त्यस्तो आलु पछि कालो हुदै जान्छ र कुहिन्छ ।

रोकथाम
रोग अवरोधक आलुका जातहरु जस्तैः डेजीरे, जनकदेव, कुफ्रिज्योती, कार्डिनल, एन.पि.आई. १०६ आदिको प्रयोग गर्ने । रोग देखिएको क्षत्रमा बाली चक्र अपनाएर २–४ वर्षपछि मात्र रोप्ने । रोगी माटोमा फलाइएको आलुको बीउको प्रयोग नगर्ने र त्यस ठाउँमा बीउ आलु उत्पादन बन्द गर्ने ।

३) कालो खोस्टे (Black Scurf)

यो रोग राइजोक्टोनीया सोलानी (Rhizoctonia solani) ढुसीका कारणले लाग्ने गर्दछ । यो रोग विशेषगरी नेपालको तराई क्षत्रमा बढी देखिन्छ । माटोको सतहमा डाँठको वरिपरि वा आलुको बोक्रामा विभिन्न साह्रा–साह्रा काला खोस्टाहरु देखा पर्दछ र आद्र मौसममा सेतो ढुसी पनि देखा पर्दछ । पातहरु दोब्रिएका हुन्छन र माथिल्लो पातहरुको रङ्ग रातो हुन्छ । यो रोगको आक्रमणबाट उम्रन लागेका मुना वा आलुका टुसाहरु मर्न थाल्दछन ।

रोकथाम
राम्ररी टुसाएको बीउ आलुको प्रयोग गर्न अत्यन्त जरुरी पर्दछ । स्वस्थ तथा निरोगी बीउको प्रयोग गर्ने र चिसो माटोमा आलु नरोप्ने । बीउ आलुको टुसा उम्रिनुभन्दा पहिले डेरोसल ५०% धुलो विषादी १–१.५ ग्राम प्रतिलिटर पानीमा मिसाई बनाएको घोल ३ मिनेटसम्म डुबाई वा ३% को एसिटिक एसिडमा २०–३० मिनेट डुबाई फिजाएर रसाउन दिनु पर्दछ ।

४) डाँठको फेद कुहिने रोग (Stem Rot)

यो स्ल्केरोसियम रोल्फसी (Sclerotium rolfsii ) नामक जीवाणुबाट लाग्ने रोग हो । यो रोग उष्ण र आद्र्र हावापानीमा भएको तराई क्षेत्रमा बढी देखा पर्दछ । रोगी बोटको माटोसँग जोडिएको डाँठमा खैरो दाग देखा पर्दछ र आलुको बोट पहेंलो देखिन्छ । बढी आर्द्र मौसम भएका रोगी आलुको डाँठमा, दानामा र माटोमा पनि सेतो ढुसी देखिन्छ । यो रोग फैलदै जाँदा पहिले सेतो र पछि खैरो भएर जाने सस्र्यूका दाना जस्ता स्ल्केरोसियाका दानाहरु देखिन थाल्दछन ।

रोकथाम
यो रोग आद्र्र मौसममा देखिने भएकाले सुख्खा मौसम भएको बेला पारी आलु खन्ने काम गर्नुपर्दछ । रोगी आलुका बोट तथा दाना जलाउनु पर्दछ । स्वस्थ र राम्रो जातको आलुको बीउ प्रयोग गर्नुपर्दछ ।

५) सुख्खा सडन (Dry Rot)
यो रोेग फ्यूजारिअम सिरलिअम (Fusarium caerulium) जीवाणुबाट लाग्ने गर्दछ । यो रोगको जीवाणु माटोमा रहेका हुन्छन र दानामा चोटपटक लागेको स्थानबाट रोगका जीवाणुहरुले सजिलै आक्रमण गर्दछन । दानाको रोगग्रस्थ भाग हल्का खैरो र पछि कालो भएर जान्छ । कुहिएको गुदि सुकेर दबिएको हुन्छ र बाहिरबाट खुम्चिदै चक्रहरु परेको हुन्छ । आलुका आँखा, छिद्रहरु वा घाउमा ढुसि देखा पर्दछ । तापक्रम बढी भएमा गुदी भिजेर कुहिन्छ र कम भएमा कुहिएका तन्तुहरु सुख्खा धुलोजस्तो हुने गर्दछ ।

रोकथाम
स्वस्थ र रोग अवरोध आलुको बीउ प्रयोग गर्ने । आलुमा कुनै कार्यहरु गर्दा चोटपटक नलाग्ने गरी गर्ने । भण्डारण गर्नु भन्दा पहिला आलुको घाउ पुर्न र बोक्रा छिप्पिन आवश्यक व्यवस्था मिलाउनु पर्दछ । अन्नबाली समावेश गरी लामो घुम्तीबाली चक्र पद्धति अपनाउनु पर्दछ ।

६) धुर्ल दाग (Powdery Scab)

यो रोग स्पंगोस्पोरा सवटेरानिया (Spongospora subterranea) ढुसीका कारणले हुने गर्दछ । यो रोग नेपालको मध्य पहाडी क्षेत्रमा फाटफुट देखा पर्दछ । यो रोगले आलुको दानामा विशेष आक्रमण गरी माटोमुनिको भागलाई पनि असर गर्दछ । कलिलो आलुको बोक्रामा सानो, गोलो र हलुका खैरो दागहरु देखा पर्दछन जुन पछि ठूला हुँदै जाँदा छिप्पिएका दागहरु फुटछन र खैरो कालो धुलो जस्तो जीवाणुहरु देखा पर्दछन । रोगका जीवाणुले आलुको जरामा आक्रमण गरेमा जरामा स–साना गिर्खाहरु देखिन्छन जुन शुरुवातमा जराकै रंगका हुन्छन र पछि कालो रंगमा देखा पर्दछन

रोकथाम
स्वस्थ र रोग अवरोधी बीउको प्रयोग गर्ने । आलु लगाउँदा पानीको राम्रो निकासको व्यवस्था मिलाउने । अन्नबाली समावेश गरिएको घुम्ते बालीचक्र अपनाउने ।

ख) बैक्टेरियाजनित रोगहरु (Bacterial Diseases)

१) ओइलाउने वा खैरो पिप पाक्ने रोग (Bacterical Wilt or Brown Rot)

यो राल्स्टोनिया सोलानेसिरम (Ralstonia solanacearum) नामक ब्याक्टेरियाको कारणबाट उत्पन्न हुने रोग हो । यो रोग नेपालको मध्य तथा उच्च पहाडी क्षत्रमा हुने प्रमुख रोग हो । यो रोग लागेपछि बोटको कुनै एउटा डाँठ ओइलाउन शुरु हुन्छ र बिस्तारै पानी कमी भए जस्तै गरी ओइलाएर मर्छ । रोगी आलुको दाना काट्दा नशा वरिपरि खैरो चक्र देखिन्छ र कडा आक्रमण भएमा आलु थिच्दा चक्रबाट सेतो पिप निस्कन्छ । रोगी विरुवाको डाँठको तल्लो भागको ५ से. मि. लामो टुक्रा वा रोगी आलुको सानो टुक्रा सफा पानी भएको सिसाको ग्लासमा ५ मिनेटसम्म डुबाउँदा सेतो दुध वा धागो जस्तो सेतो पिप पिंध तर्फ झरेको देखिन्छ ।

रोकथाम
सोलानेसी परिवारका बालीहरु जस्तैः गोलभेडा, भान्टा, खुर्सानी, अदुवा आदी नलगाई अन्य बालीहरु धान, मकै, गहुँ, जौ आदी समावेश गरी लामो घुम्ती बाली चक्र पद्धति अपनाउने । रोग लागेको दाना वा बोट जम्मा गरी जलाउने । बीउ आलु नकाटी सिङ्गै रोप्ने । माटोको माध्यमबाट सर्ने सक्ने रोग भएकाले गोडमेल गर्दा जरामा चोटपटक नलाग्ने गरी गर्ने । दुषित माटोेलाई उपचार गर्नको लागी १०% फर्मालिनको झोलले करिब १ फिट सम्म भिजाई प्लाष्टिकले हावा नपस्ने गरी १ हप्ता सम्म छोप्दा यसका जीवाणुहरु मर्दछन । रोग देखिएको क्षेत्रमा प्रति कठ्ठा १.५ के.जी. को दरले स्टेबल प्लेचिङ पाउडर छर्दा रोग लाग्ने सम्भावना कम हुन्छ ।

२) दादे रोग (Common Scab)

यो रोग स्टेप्टोमाइसिस स्क्थाविस (Streptomyces scabies) नामक व्याक्टेरियाको कारणले लाग्ने गर्दछ । आलुको सतहमा केहि उठेका अथवा खाडल परेका दागहरु देखा पर्दछन । पछि गएर जाली जस्ता गहिरो वा खोपिल्टो परेको वा फोका परेको जस्तो देखिन्छ । बिस्तारै दागहरु एक आपसमा जोडिन गई पुरै आलुका दानामा रोगले ढाक्दछ ।

रोकथाम
स्वस्थ र उपचार गरिएको बीउ आलुको प्रयोग गर्ने । रोग ग्रस्त क्षेत्रमा घुम्ती बाली लगाउने । आलु बढने बेलामा माटोमा चिस्यान कायम राख्ने । बीउ आलुलाई ३०% वोरीक एसिडको झोलमा ३० मिनेट अथवा एसिटिक एसिड र ०.०५% जिंक सल्फेट मिसाई तयार पारेको झोलमा २० मिनेट डुबाई उपचार गरेको बीउ छाँयामा ओभाएपछि मात्र प्रयोग गर्ने ।

३) गिलो सडन (Soft Rot)

यो रोग इरविनिया कार्टोभोरा (Erwinia cartovora) जीवाणुबाट लाग्ने रोग हो । यो रोग प्राय चिस्यान वा आद्र्र मौसम भएको ठाउँमा लाग्ने गर्दछ । यस रोगका कारण आलुको बोट होचो, ठाडो भई पात पहेंलिने र माथितिर घुमेको जस्तो हुन्छ । दानाको छिद्रमा स–साना कालो खैरो फोका उठेको हुन्छ र गुदीमा पानी पसेको जस्तो देखिन्छ । अन्तमा गुदी क्रिम रङ्गको नरम भई कुहिने र सारै गन्हाउने हुन्छ ।
रोकथाम
यो रोग चिस्यानममा लाग्ने भएकाले आलु खनेपछि चिसो भएमा राम्रोसँग ओभाउनु पर्दछ । आलु खेतिमा कुनै कार्यहरु गर्दा दानामा चोटपटक नलाउने गरि काम गर्ने । बीउ आलुलाई ३% एसिटिक एसिडको झोलमा ३० मिनेटसम्म डुबाई ओभाएपछि मात्र भण्डानण गर्ने ।

ग) भाइरस रोगहरु (Viruses)
आलु बालीमा विभिन्न किसिमका भाइरस रोगहरु लाग्ने गर्दछ । यी रोगहरु विशेषगरी लाही कीरा, खेतमा प्रयोग हुने औजार, काम गर्ने मानिस र हरेक वर्ष पुरानो बीउको प्रयोगले गर्दा सर्ने गर्दछन ।

१) पात दोब्रिने भाइरस (Potato Leaf Roll Virus)
प्राथमिक अवस्थामा टुप्पाका पातहरु माथितर्पm दोब्रिने पातलो रङ्ग हल्का हुन्छ र पछि पातहरु बाक्ला र चाम्रा हुन थाल्छन । यस्ता पातहरु हल्लाउदा स्याउला जस्तै आवाज आउछ र पातका किनारा फिक्का रातो देखिन्छ । रोगी बोटहरु होचो हुने, दानाहरु साना हुने र पातहरु पहेंला हुने गर्दछन ।

२) पात गुजुमुजु हुने वा मोजाइक भाइरस (Mosaic Virus)
यो रोग आलुको भाइरस एक्स (PVX), एस् (PVS), एम् (PVM),वाइ (PVY), र ए (PVA) को एकल वा सयुक्त आक्रमणबाट हुने गर्दछ ।
यो भाइरस २ किसिमको हुन्छ ः
 हल्का मोजाइक भाइरस (Mild Mosaic Virus)
आलुका पातहरुमा पहेंला वा हल्का हरिया दागहरु देखिन्छन । पातको किनारा बाङ्गोटिङ्गो परेको हुन्छ र झट्ट हेर्दा स्पष्ट देख्न सकिदैन ।
 कडा मोजाइक भाइरस (Wild Mosaic Virus)
पातमा देखिने पहेंलोपन हल्का मोजाइक भन्दा निकै प्रस्ट देखिने हुन्छ । पातहरु प्रायः अनियमित आकारका हुन्छन ।

भाइरसजन्य रोगहरुका रोकथाम

भाइरस मुक्त बीउ आलुको प्रयोग गर्ने । लाही कीराको नियन्त्रण गर्नुपर्छ । लाही कीरा देखापरेमा आवश्यकता अनुसार मेटासिष्टक २५ इ. सी. वा रोगर २५ इ. सी. १ मिलिलिटर प्रति लिटरका दरले पानीमा मिसाई छर्कनु पर्दछ । बीउ उत्पादनका लागी सिड प्लट प्रविधिको ( रोगी विरुवाहरु उखेली हटाउने ) प्रयोग गर्ने ।

लेखक: अनिता शर्मा

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles