सुन्तलाजात फलफूल बिरुवाको कलमी तथा नर्सरी व्यवस्थापन प्रविधि

 

परिचय

सुन्तलाजात फलफूल रुटेसी (Rutaceae) अन्तरगत पर्दछ।सुन्तला, जुनार, कागती, निबुवा आदि नेपालमा खेती गरीने जातीमध्ये प्रमुख हुन् । सुन्तला र जुनार मध्य पहाडी क्षेत्रका मुख्य जाती हुन भने कागती र निबुवा तराई तथा भित्री मधेसमा समेत खेती गरिने जाती हुन ।
नेपालमा सुन्तलाजात फलपूmलले ढाकेको क्षेत्रफल ३८९८६ हेक्टर छ भने जम्मा उत्पादन र उत्पादकत्व क्रमशः २२४३५

६ मेट्रिक टन र ८.८० मेट्रिक टन प्रति हेक्टर रहेको छ । नेपालमा सुन्तलाजात फलफूलको बिस्तार दु्र्रत गतिमा भैरहेको छ ।सुन्तलाजात फलफूल एकआपसमा क्रस भै नयाँ बणर्शंकर जात निस्कने हँुदा बीउबाट उत्पादीत बिरुवाको गुणस्तर माउबोटको जस्तो नहुने हुनाले बीजु बिरुवा रोप्नु उपयुक्त मानिदैन । बीजु बिरुवा बिभिन्न माटोबाट उत्पत्ति हुने रोगहरु जस्तै फाईटोपथोरा रुट रटबाट संक्रमित हुने भएकोले बिभिन्न रोग सहन सक्ने तीनपाते सुन्तलाका रुटस्टकहरुमा कलमी गरीएका बिरुवा राम्रो मानिन्छ । फाईटोपथोरा रुट रट सहन सक्ने, ट्रिस्टेजा भाईरस नलाग्ने, सिट्रस ब्लाईट रोग पनि कम लाग्ने तथा चाम्रो माटोमा समेत उपयुक्त भएको हुँदा तीनपाते र यसका बणर्शंकर जात सुन्तलाजात फलफूल ग्राफ्टिङ्गका लागि एकदमै उपयुक्त मानिएको छ ।
नेपालमा यसको खेती समुद्री सतहबाट करीब १,४०० मिटर उचाईसम्म गरीन्छ ।

जग्गाको छनौट
सुन्तलाजात फलफूलको ग्रिनिङ्ग रोग बगैंचा ह्रासको प्रमुख कारक भएको हुँदा सुन्तलाजात फलफूलको नर्सरी समुद्र सतहबाट १,००० मिटर भन्दा माथिको उचाईमा राख्नु उपयुक्त हुन्छ किनभने यो रोग रोगी बिरुवाबाट निरोगी बिरुवामा सिट्रस सिला नामको किराले सार्ने गर्दछ । यो किरा ९०० मिटर भन्दा माथिको उचाईमा पाईदैन । साथै सुन्तलाजात फलफूलको नर्सरी फलफूलको बगैचाबाट करीब ५०० देखी १,००० मिटर टाढा हुन पर्दछ ।

रुटस्टक उत्पादन प्रबिधि
नेपालमा ग्राफ्टिङ्गबाट उत्पादन गरिने बिरुवा अधिकांश तीनपाते सुन्तला र यसका बणर्शंकर जातहरुमा गरिन्छ । अतः तीनपाते सुन्तलाको रुटस्टक उत्पादन प्रबिधि यस प्रकार छः

फलको टिपाईः
मध्य पहाडमा भदौ/असोज महिनामा तीनपाते सुन्तलाको फल पाक्ने हुँदा पूरै पाकेका पहेंला स्वस्थ फललाई बोटबाट टिप्नु पर्दछ ।

बीउ निकाल्नेः
पाकेका फलबाट बीउ निकाल्नको लागि फलको बीचमा चक्कुले करीब २.५ सेन्टिमिटर गहीरो हुनेगरी वरीपरीबाट काटी फललाई दुई हातले समाएर बिपरीत दिशामा घुमाई दुई भाग अलग गर्नु पर्दछ । धेरै गहिरो काटेमा केन्द्रतिर रहेका बीउ नोक्सान हुने भएकोले काट्ने बेलामा होसियार रहनु पर्दछ । दुई भागमा रहेका बीउलाई चक्कुको टुप्पाको सहायताले बिस्तारै निकाल्नु पर्दछ ।

बीउ सुकाउनेः
फलबाट बीउ निकालिसकेपछि २-३ दिनसम्म छायाँमा सुकाउनु पर्दछ । सोझै घाममा सुकाउँदा उमार शक्तिमा कमी आउने भएकोले यसो गर्नु हुदैन ।

बीउ रोप्नेः
बीउलाई १-२ महिना अगाडि प्रशस्त गोबर मल र माटो मिलाई राम्रोसँग तयार पारिएका बेडमा ५×२-३ सेन्टिमिटरको दुरीमा रोपी पारदर्शक प्लाष्टिकले पुरै बेड छोप्नु पर्दछ । बिरुवा बढ्दै जाँदा बासको भाटा र प्लाष्टिकको टनेल बनाई बिरुवा छोप्नु पर्दछ । बेला बेलामा चिस्यानको मात्रा हेरी सिंचाई गर्नु पर्दछ । कार्तिक महिना तीनपाते सुन्तलाको बीउ रोप्ने उपयुक्त समय हो ।

बिरुवा दोश्रो बेडमा रोप्नेः
पहिलो नर्सरीमा बिरुवा रोपेको करीब ४-५ महिना पछि बिरुवालाई दोश्रो नर्सरी बेडमा ५-७×४-५ सेन्टीमिटरको दुरीमा रोप्नु पर्दछ । बिरुवा रोपेपछि तुरुन्तै पानी लगाई टनेल बनाई पारदर्शक प्लाष्टिकले छोप्नु पर्दछ । टनेल भित्रको तापक्रम बाहिरको भन्दा बढि हुने भएको हुँदा बिरुवाको बृद्धि बढि हुने गर्दछ, जसले गर्दा एक बर्षमै बिरुवाहरु कलमी गर्न लायक हुन्छन् ।

ग्राफ्टिङ्ग
सुन्तलाजात फलफूलको ग्राफ्टिङ्गबाट बिरुवा तयार गर्नको लागि पुष र माघ महिना उपयुक्त हुन्छ । सुटटिप वा भेनियर मध्ये कुनै पनि तरीकाबाट कलमी गर्न सकिन्छ । सुटटिपबाट ग्राफ्टिङ्ग गर्न भेनियर भन्दा छिटो हुने भएको हुँदा यहि तरीका नेपालमा प्रचलित छ । रोग नलागेका जालिघर भित्र राखिएका स्वस्थ माउबोटको करीब ८-९ महिना पुराना हाँगा सायनको रुपमा प्रयोग गरिन्छ भने रुटस्टक चाहि एक बर्ष भन्दा बढि उमेर भएका पेन्सिल साईजका राम्रोसंग जराको बिकास भएका स्वस्थ बिरुवा चाहिन्छ ।यस तरीकाबाट ग्राफ्टिङ्ग गर्दा एक जनाले दिनभरीमा करीब ५०० देखि ७०० बिरुवा तयार गर्न सक्दछन् ।

ग्राफ्टिङ्ग गर्ने तरीका
 सिकेचरले रुटस्टकका काँडाहरु हटाई भुई देखि करीब १२-१६ सेन्टिमिटरको उचाईबाट काटी माथिको भाग हटाउनु पर्दछ ।
 सायनलाई माउबोटबाट ग्राफ्टिङ्ग गर्नुभन्दा अगाडि नै कम्तिमा पनि एउटा आँखा रहने गरी करीब ४-५ सेन्टीमिटरका टुक्रा बनाउनु पर्दछ । दुईवटा आँखा भएको सायन कलमी गर्न सबैभन्दा उपयुक्त हुन्छ ।
 रुटस्टकलाई टुप्पो भन्दा करीब २ सेन्टिमिटर तल चक्कु राखि माथितिर एकैपटकमा छड्के काट्नु पर्दछ ।
 रुटस्टकमा टम्म मिल्नेगरी सायनको फेदबाट करीब २ सेन्टिमिटर माथि चक्कु राखि एकै पटकमै छड्के काट्नु पर्दछ ।
 सायनलाई रुटस्टकमा मिल्ने गरी हातले टम्म समाई प्लाष्टिकको बन्धनले माथिबाट तलतिर हावा तथा पानी नछिर्ने गरी बलियोसंग बाध्नु पर्दछ । बाध्ने बेलामा के ख्याल राख्नु पर्दछ भने यदि सायन र रुटस्टक एउटै साईजका छैनन् भने सायनको कुनै एक भागलाई रुटस्टकको कुनै एक भागसँग (बोक्रा बोक्रासँग र हड्डि हड्डिसँग) मिल्ने गरी जोड्नु पर्दछ, अन्यथा सायन मरी कलमी असफल हुन जान्छ ।

ग्राफ्टिङ्ग गर्ने प्रबिधि

बिरुवाको रोपाई
ग्राफ्टिङ्ग गर्ने बित्तिकै बिरुवालाई करीब ६० सेन्टिमिटर चौडाई र ५ मिटर लम्बाई भएका बेडमा लगभग ५० किलोग्राम गड्यौला मल हाली एक महिना अगाडि नै राम्रोसंग खनजोत गरी साईडको चारैतिरबाटबाँसको भाटा र प्लाष्टिकको बार लगाएर तयार गरीएका बेडमा करीब १०×१० सेन्टिमिटरको दुरीमा लट्ठिले प्वाल पारी बनाएका डोवहरुमा जरालाई बिस्तारै भित्र राखी रोप्नु पर्दछ । रोप्दा बिरुवाको जरामा राम्रोसंग माटो खाँदेर रोप्नु पर्दछ, अन्यथा सायन मर्न सक्दछ ।
बिरुवा रोपेपछि तुरुन्त सिंचाई गर्नु पर्दछ । बेडलाई भित्र पर्नेगरी बाहिरबाट बाँसका भाटाको अर्ध गोलाकार टनेल बनाई पहिले जुट चट्टिले छोप्नु पर्दछ । जुट भिज्ने गरी गार्डेन पाईपले बिस्तारै पानी दिनु पर्दछ । जुटलाई भिन्नेगरी सिंचाई गरेपछि तुरुन्त पारदर्शक प्लाष्टिकले छोपी यसका चारैतिरका छेउलाई हावा नछिर्ने गरी माटोले पुरिदिनु पर्दछ । यसो गर्नाले टनेल भित्रको तापक्रम तथा सापेक्षित आद्रता बढ्न गई क्यालस बन्ने उपयुक्त वातावरण तयार हुन्छ । क्यालस कोषले नै सायन र रुटस्टकको जोडाई पुरा गर्दछ । यी कोषहरुको बिकास हुने र बोक्रा तथा हड्डिमा परिवर्तन हुने काम करीब २४ देखि २७ डिग्री सेल्सियस औषत तापक्रममा राम्रो हुन्छ ।

सिंचाई
ग्राफ्टेड बिरुवा रोपेपछि तत्कालै सिंचाई दिनु पर्दछ । त्यसपछि करीब २ हप्ता सम्म प्रत्येक दिन प्लाष्टिक हटाई जुट चट्टि र बिरुवाको जरा राम्रोसंग भिज्ने गरी सिंचाई गर्नु पर्दछ । दुई हप्ता पछाडि टनेल भित्रको चिस्यान हेरी २-३ दिनको फरकमा र करीब ५ हप्ता पछि ५-६ दिनको फरकमा सिंचाई गर्नु पर्दछ ।

सकर हटाउने
टनेल भित्र रहेका ग्राफ्टेड बिरुवाको रुटस्टकबाट प्रशस्त सकरहरु आउने भएको हँुदा नियमित रुपले हातले फेँदैबाट भाँचेर यिनलाई हटाउनु पर्दछ । लामो समय सम्म सकर नहटाएमा बिरुवाको खाना सबै सकरहरुले खाई सायन मर्दछ । ग्राफ्टिङ्ग गरेको शुरुमा एक हप्ताको फरकमा र २-३ महिना पछि करीब ३ हप्ताको फरकमा सकरहरु हटाउनु पर्दछ ।

गोडमेल
टनेल भित्र प्रशस्त मात्रामा चिस्यान र बढि तापक्रम हुने हुँदा झारपात पनि अत्याधिक आउने गर्दछ । टनेल भित्र भएको अवस्थामा १५-२० दिनको फरकमा गोडमेल गर्नु पर्दछ र टनेलबाट प्लाष्टिक हटाई सकेपछि भने अवस्था हेरी २०-२५ दिनको फरकमा गर्न सकिन्छ ।

बन्धन हटाउने
रुटस्टक र सायनलाई जोड्न प्रयोग गरेका प्लाष्टिकका बन्धनहरु कलमी गरेको ३-४ महिना पछि हटाउनु पर्दछ । धारीलो चक्कु वा व्लेडले बिरुवामा चोट नलाग्ने गरी काटेर बन्धन हटाउनु पर्दछ । लामो समयसम्म बन्धन नहटाएमा ग्राफ्टेड बिरुवाको सायन र रुटस्टकमा गाडिन गई बिरुवा भाँचिने सम्भावना हुन्छ ।

टनेलको प्लाष्टिक कभर हटाउने
टनेलको प्लाष्टिक चारैतिरबाट बन्द हुने हुँदा भित्रको तापक्रम चैत्र/बैशाखमा ५० डिग्री सेल्सियस भन्दा बढि हुन्छ । तापक्रम र चिस्यान बढि भएको अवस्थामा ढुसीको संक्रमणबाट बिरुवाको पात डढ्ने तथा जरा कुहिने हुन सक्दछ । त्यसैले चैत्रको दोश्रो हप्ताबाट भित्रको तापक्रम बिचार गरी टनेलको पहिले एक साईड, ५-७ दिन पछि अर्को साईड गरी करीब १०-१५ दिन लगाएर बिस्तारै प्लाष्टिक कभर हटाउदै जानु पर्दछ । एकैपटक हटाउदा टनेल बाहिरको र भित्रको वातावरण फरक पर्ने हुँदा बिरुवा ओईलिन गई मर्ने सम्भावना रहन्छ ।

टनेलको जुट कभर हटाउने
बैशाख तथा जेठमा असिना पर्ने सम्भावना भएको हुदा जुटको कभरलाई असारसम्म राख्नु पर्दछ जसले गर्दा बिरुवालाई नोक्सान हुनुबाट बचाउन सकिन्छ । लामो समयसम्म जुट कभर नहटाउँदा सूर्यको प्रकाशलाई छेकी प्रकाश संस्लेषण प्रक्रियालाई असर गरी बिरुवाको वृद्धि रोक्ने भएकोले राम्रो मानिदैन ।

टपड्रे्रसिङ्ग
बिरुवा ५-६ महिनाको उमेर भएपछि करीब १ किलो गड्यौला मल प्रति ५० बोटको दरले टपड्रेस गर्नु पर्दछ । रोप्नु अघि प्रशस्त कुहिएको गोबरमल नर्सरी बेडमा हालेमा कुनै प्रकारको खाद्य तत्वको कमीको लक्षण देखिदैन । नर्सरीका बिरुवामा कुनै खाद्य तत्वको कमी देखिएमा लक्षण अनुसार नाइट्रोजन, फोस्फोरस, पोटास, आईरन, म्याग्नेसियम, जिंक वा म्याग्नेनिज भएको मल्टिप्लेक्स झोल सिफारिस मात्रामा पातमा छर्नु पर्दछ ।

रोग नियन्त्रण
सुन्तलाजात फलफूल नर्सरीमा लाग्ने प्रमुख रोगहरु मध्ये डेम्पिङ्ग अफ तीनपाते सुन्तलाको रुटस्टक बिरुवा उत्पादन गर्ने समयमा पहिलो नर्सरीमा देखा पर्दछ । यो रोग लागेमा भर्खरै उम्रेका बिरुवा मरेको देखिन्छ । बीउ फलबाट निकाली राम्रोसँग सुकाई सकेपछि थिराम ७५% वा कार्वेन्डाजिम् ७५% पाउडर २ ग्राम प्रति किलो बीउको दरले उपचार गरेमा यो रोग देखा पर्दैन ।
खोटो निस्कने रोग भने तीनपाते सुन्तलाको नर्सरीमा असारदेखि भाद्र महिनासम्म मूख्य काण्ड तथा हाँगाहरुमा देखा पर्दछ । यो रोगलाई नियन्त्रण गर्न एन्टिरट नामक ढुसीनासक बिषाधि ५ मिलिलिटर प्रति लिटर पानीको दरले लक्षण देखिनासाथ पातमा छर्नु पर्दछ ।
खराने रोग बर्षा याम शुरु भएपछि कलिला पात, मुना तथा डाँठमा खरानी छरेको जस्तो सेतै देखिन्छ । यसको नियन्त्रण गर्न ईन्सफ वा सल्फेक्स जस्ता सल्फरयुक्त बिषाधि २ ग्राम प्रति लिटर पानीको दरले १५/१५ दिनको फरकमा रोग नियन्त्रण नहुँदासम्म छर्नु पर्दछ ।
पात तथा हाँगाको ब्लाइट लामो समयसम्म झरी परेमा आषाढ देखि भाद्र महिनासम्म बिरुवामा देखा पर्दछ । पात तथा हाँगाको टुप्पाबाट डढ्दै लक्षण बीरुवाको तल्लो भागतिर सर्दै जान्छ । यो रोग नियन्त्रण गर्नका लागि बेभिष्टिन वा अरु कुनै पनि ब्रोडस्पेक्ट्रम ढुसीनासक बिषाधि १-१.५ ग्राम प्रति लिटर पानीमा मिलाई लक्षण देखिनासाथ छर्नु पर्दछ ।

किरा नियन्त्रण
सुन्तलाजात फलफूल नर्सरीमा लाग्ने प्रमुख किराहरुमा पात खन्ने किरा, सुन्तलाको पुतलीको लार्भा, लाही किरा तथा पात खाने हरियो खपटे किरा हुन् । पात खन्ने किराले खास गरी बैशाख देखि आश्विन महिनासम्म पातमा सुरुङ्ग बनाई क्लोरोफिल खाई पात बटारेर प्रकाश संस्लेषण प्रक्रियालाई अबरुद्ध गरी नोक्सान पुर्याउँदछन् । सुन्तलाको पुतलीको लार्भाले बैशाखदेखि मंसिर महिनासम्म पुरै पात खाई बिरुवामा नोक्सान पुर्याउँदछन् । लाही किराले कलिला पात तथा डाँठमा चुसेर नोक्सान गर्दछ । पात खाने हरीयो खपटे किराले जेठदेखि असोज महिनासम्म पात प्वाल पारेर खाने गर्दछ । पात खन्ने किरा, सुन्तलाको पुतलीको लार्भा र पात खाने हरीयो खपटे किरा नियन्त्रय गर्न मालाथियन जस्ता कन्ट्याक बिषाधि झोल २ मिलिलिटर प्रति लिटर पानीको दरले १५/१५ दिनको फरकमा पूरै बोट भिज्नेगरी छर्नु पर्दछ । लाही किरा नियन्त्रण गर्नका लागि रोगर जस्ता सिष्टेमिक बिषाधि १-१.५ मिलिलिटर प्रति लिटर पानीको दरले बोटमा १५/१५ दिनको फरकमा किरा नियन्त्रण नहुँदासम्म छर्नु पर्दछ ।

लेखक
बसन्तराजश्रेष्ठ
B.Sc. Ag

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X