Array

व्यवसायिक केरा खेतीः एक जानकारी

व्यवसायिक केरा खेतीः एक जानकारी

केराको बिरुवा उत्पादन

सामान्यतया केरामा परागसेचन बिनानै फल लाग्दछ तैपनि कुनै कुनै जँगलि केरामा परागसेचन हुन्छ र फलभित्र बिउ लाग्दछ । ब्यवसायिक रुपमा उत्पादन गरिने केराको प्रसारण निम्न बिधिबाट गर्ने गरिन्छ ।

क) कोथाबाट:

बिउ नलाग्ने भएकोले पुरानो बोटको जमीनभित्र रहेको गानोका आँखाहरुबाट विकास हुने  कोथाहरुबाट केराको नयाँ बोटहरु उत्पादन गरिन्छ ।  केराको बोटबाट चुच्चेपाते र चौडापाते  गरि दुई प्रकारका कोथाहरु निस्कन्छन् ।  एउटै केराको बोटको एउटै गानोबाट चुच्चेपाते र चौडापाते कोथाहरु निस्कन सक्दछन् ।  छिटो बढ्ने निरककगि र छिटो फल दिने भएकोले चुच्चेपाते कोथा बिरुवा उत्पादनको लागि उपर्युक्त मानिन्छ ।

ख) गानोबाट :

यस तरिकाबाट बिरुवा उत्पादन गर्दा गानोलाई हरेक टुक्रा मा एउटा आँखा पर्ने गरि काटेर तयार पारिन्छ र यिनै टुक्राहरू बाट बिरुवा उत्पादन गरिन्छ ।  प्रति गानोबाट सरदर ४  देखि ६  ओटा सम्म बिरुवा उत्पादन हुन्छ ।

ग) तन्तु प्रजनन (टिस्यू कल्चर) प्रविधिबाट :

केराको बिरुवा प्रसारणमा यो एक नया पबिधि हो ।  यस प्रविधिमा स्वस्थ केराको गानोको तन्तुबाट प्रयोगशालामा केराको बिरुवा उत्पादन गरिन्छ ।  नेपालमा पनि यो प्रबिधि अपनाई केराको बिरुवा प्रसारण गरि केरा लगाउने कार्यको सुरुवात भई राम्रो नतिजा समेत प्राप्त हुन थालेका छन् ।  तन्तु प्रसारण बाट उत्पादित बिरुवा स्वस्थ हुने भएकोले बिरुवा ओसारपोसार गर्दा रोग र किरा हरु  अन्यत्र सर्दैनन् ।  एस्त बिरुवा हरुको बृद्दि विकास क्षमता पनि कोथाबाट उत्पादित बोटबिरुवाको जस्तै हुन्छ ।  यस्ता बिरुवाको उत्पादकत्व पनि बढी हुन्छ ।  प्रयोगशालाबाट तन्तु प्रजनन् प्रविधिबाट अर्को नर्सरीमा ३  महिना जतिजर्खर्याउनु पर्दछ ।  ३–४ पात भएको करिब ५–६ इन्च अग्ला यी बेर्ना खेतबारीमा सार्न उपयुक्त हुन्छन् ।

कोथाको उपचार

प्राय रोग   किरा बिरुवा बाटै सरेर आउने भएकाले बगैंचा स्थापना गर्न निरोगी कथाहरु नै बिरुवाहरु  नै प्रयोग गर्नुपर्दछ ।  त्यसैले प्रसारणको लागि प्रयोग गरिने कोथालाई निम्न बमोजिम उपचार गर्नुपर्दछ । कोथा हरुलाई माउबाट गानो सहित छुट्याउने र लामा  जराहरुलाई काटेर हटाउने । गानोमा चोटपटक  लागेको घाउहरुमा  धरिलो हतियारले एक्नाससँग सम्म हुनेगरी काटिदिने । कोथाहरु ६० देखि ७५ सेन्टिमिटर उचाइको मात्र राख्ने र छायादर ठाउँमा चारदेखि पाँच दिनसम्म राख्ने   यदि कोथहेउलाई केहीदिन राख्नुपर्ने भएमा वा टाढा लैजानु पर्ने भएमा गानो को ठेक माथिबाट काटेर राख्ने   राख्दा चिसो र छायादार ठाउमा झ्याउ वा जुटको बोरालाई भिजाएर वा केराको काँचो सुत्लाले छोपेर राख्नु पर्दछ ।  यसो गर्दा बाँकी रहेका पात वा सुक्लाहरु झरेर मुख्य मुना मात्र रहन जान्छ ।  यसरी यसलाई एकदेखि दुई महिनासम्म राख्न सकिन्छ ।

हावापानी

केरा खेती गर्मी तथा ओसिलो हावापनी भएको उष्ण तथा उपोष्ण प्रदेशीय  हावापानीमा फस्टाउँदछ । १० डिग्री देखि ४० डिग्री सेल्सियस  सम्मको तापक्रममा केरा खेती गर्न सकिने भएपनि २०–३० डिग्री सेल्सियस को  तापक्रम केरा  खेतिको लागी  अतिउत्तम मानिन्छ । २० डिग्री सेल्सियस भन्दा तलको तापक्रममा केराको बृद्धिदर कम हुदै गएर १० डिग्री सेल्सियस मा केराको बृद्धिविकास पूर्ण रुपमा रोकिन्छ ।  शितलहर चल्यो भने केरा पूर्ण रुपमानै नस्ट हुन सक्छ ।  त्यस्तै तुसारो पर्ने ठाउँ केरा खेतीको लागि उपयुक्त हुँदैन । बढी हुरिबतास चल्ने स्थानमा पनि केरा खेती राम्रो  हुँदैन ।    घाम लाग्ने, मासिक औसत १०० मि. मि.  बर्ष हुने क्षेत्र केराको लागि उपयुक्त हुन्छ । प्रशस्त वर्षा हुने ठाउँमा केरा खेती राम्रो हुने भएपनि बार्षिक २०० देखि ५०० से. मि.वर्षा हुने ठाउँमा पनि सिंचाई दिएर केरा खेती गर्न सकिन्छ । नेपालको तराई भित्री मधेश देखि १२०० मिटर  सम्मको उचाइमा रहेका खोच बेसी क्षेत्रमा व्यवसायिक रुपमा केरा खेती गर्न सकिन्छ ।

जमिनको तयारी

केराखेति प्रायः सबै किसिमको माटोमा गर्न सकिने भएपनि पानी नजम्ने, प्रसस्त प्रांगारिक पदार्थ भएको पी.एच. ७.५ भएको दोमट माटो राम्रो मानिन्छ । केरा लगाउनको लागि झारपात र अन्य बालीका बोट हटाई गहिरोसँग खनजोत गरि जमिनको तयारी गर्नुपर्छ । छनौट गरिएको जग्गालाई २–३ पटक राम्ररी खनजोत गरि डल्ला फुटाइ झारपात हटाइ सम्याउनु पर्दछ ।  यसरि तयार गरेको जग्गालाई केराको बगैचा  लगाउन रेखांकन गर्ने र खाडल खन्ने गर्नु पर्दछ ।  जमिनको तयारी गर्दा नै सिंचाई र निकासको व्यवस्था मिलाउनु पर्दछ ।  पशु र जंगली जनावर बाट बचाउन बारबंदेजको तयारी जग्गा तयारीको बेलामानै गर्नु पर्दछ ।

खाडलको तयारी

राम्रोसंग खनजोत गरि तयार पारिएको जमिनमा बिरुवा रोप्न ५०८५०८५० से. मि.(लम्बाई८चौडाई८गहिराइ) को खाडल खन्नुपर्छ ।  चिम्टाइलो माटो भएको ठाउमा ठुलो खाडल खन्नु पर्दछ , किनभने केराको जरा अन्य रुख बिरुवाको भन्दा कमजोर हुन्छन् ।

बिरुवा रोप्दा मलखादको प्रयोग

एउटा स्वस्थ केराको बोटलाई प्रति बर्ष २०० ग्राम नाइट्रोजन , ११० ग्राम फोस्फोरस   २५० ग्राम पोटास आवश्यक पर्दछ    सतहको मलिलो माटो   आधा डोको (१० देखि १५ के जी )   राम्ररी पाकेको गोबर मलमा    भागको    भाग (अर्थात ६५ ग्राम नाइट्रोजन)   आधा फोस्फोरस   पोटास (अर्थात ५५ ग्राम फोस्फोरस   १२५ ग्राम पोटास )   बिरुवा रोप्ने बेलामा नै दिनु पर्दछ साथै दाना बिषादी  पनि बिरुवा रोप्ने बेलामा राखेमा गवारो नियन्त्रण मा मद्दत पुग्दछ ।  बाँकी मल ६५ ग्राम नाइट्रोजन बिरुवा सारेको ६  महिनापछि र बाँकी ६५ ग्राम नाइट्रोजन , ५५ ग्राम फोस्फोरस , १२५ ग्राम पोटास केरा पसाउने बेलामा दिनु पर्दछ ।  हरेक पटक मल दिई सकेपछि हल्का सिंचाई गर्नु पर्दछ ।

रोप्ने समय

जाडो महिना (मन्सिरदेखि मघ) बाहेक जुनसुकै महिनामा केरा रोप्न सकिन्छ तापनि रोप्ने समयमा तापक्रम १५ डिग्री सेल्सियस भन्दा तल वा ४० डिग्री सेल्सियस भन्दा माथि हुनु हुदैन ।  मनसुन सुरु हुनुभन्दा अगाडी केरा रोप्नु राम्रो समय मानिन्छ ।  पुरै बगैचामा एकै पटक रोप्नु भन्दा ससाना चाक्लाहरु क्रमसः केहि हप्ताको अन्तरमा उत्पादन लिने समयको हिसाब गरि (जात हेरी अन्दाजी १४–१७ महिना अगाडि) र पाक्ने समय जाडो महिना छलिने गरि बिरुवा रोप्नु राम्रो हुन्छ ।  फागुन देखि असारसम्म रोपेको करले पाक्ने समयमा जाडो महिना छ्ल्दछ ।

रोप्ने दुरी

बिरुवा रोप्ने दुरी केराको जात र लगाउने तरिकामा भर पर्दछ ।  होचा जातका केराहरु (  हरिछाल , राबोष्टा )  आदिलाई १.५८२ मिटर (बोट८लाइन) फरकमा आयातकार तरिकाबाट रोप्नु पर्दछ ।  माल्भोग , चिनिया चम्पा , जस्ता अग्ला जातका केरा लाई २८३ मिटर वा ३८३ मिटर को फरकमा रोप्न सकिन्छ ।  केरालाई दुई हारे (आयतकार वा त्रिभुजाकार )  तरिकाबाट रोप्दा राम्रो हुन्छ ।  यसरि रोपेको बगैचामा मलजल तथा गोडमेल गर्न सजिलो हुन्छ ।

बिरुवा रोप्ने तरिका

मल र माटो राम्ररी मिलाएर भरेको खाडलको बीच भागमा बिरुवा लगाउनु पर्दछ ।  कोथा लगाउदा गानो सहित ३० से. मि. जति जमीनभित्र गाड्नु पर्छ ।  त्यसपछि  कोथा वरिपरी माटोले राम्रोसंग थिचिदिनु पर्दछ ।  रोपी सक्नासाथ वा भोलि पल्ट ठिक्क भिज्ने गरि सिचाई गर्नु पर्दछ ।  त्यसपछि दोमट माटोमा एक हप्ता ,  बलौटे दोमट भए ३  दिन  र बलौटे  माटो भएमा १  दिन बिराएर सिंचाई गर्नु पर्दछ ।  मनसुनको समय भएमा यस प्रकारको सिंचाई गर्नु पर्दैन ।

झारपात नियन्त्रण र गोडमेल

झारपात हातैले उखेलेर , खनजोत गरि झार नासक बिशादिहरुको प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।  झारपातलाई सिंचाई गरेको भोलिपल्ट सोझै हातले उखेले सबैभन्दा राम्रो हुन्छ ।  तर कतिपय ठाउमा यो तरिका महँगो पर्न जान्छ ।  त्यस्ता ठाउमा कुन तरिका सस्तो पर्दछ त्यहि अनुसार खर्चको हिसाब गरेर गर्नु राम्रो हुन्छ ।  प्रायः रोपेको एक महिना पछि हल्का गोडमेल गर्नु आवश्यक पर्दछ ।  औसत केराको बगैचा लाई बर्षको ४–६ पटक गोडमेल गर्नु पर्दछ र बुझेर मात्र विषादीको प्रयोग गर्नु पर्दछ ।

उकेरा र टेको लगाउने

मनसुन सुरु हुनुभन्दा अगाडी (जेठ–असार) वा त्यसभन्दा पछाडी असोज महिनातिर पुरै लाइनमा उकेरा दिन सके बढी हुरी चल्ने ठाउँहरुमा बोटलाई सुरक्षित राख्न सकिन्छ ।  धेरै फल्ने जातहरुमा घरि ठुलो भई थाम भाँचिने डर हुने हुनाले टेको लगाउनु पर्दछ ।  टेको लगाउदा चोके भएको घोचा वा बाँसको २ वटा गिड् लाई १र५ भाग तिर  बाँधेर कैँची आकारको बनाएर केराको बोटलाई टेको लगाउन सकिन्छ ।  टेको लगाउदा छड्के पारेर लगाउनु पर्दछ ।

सिंचाई र निकास

साधारणतया स्थानीय जातका केराहरुलाई बिना सिंचाई नै खेति गरिन्छ तापनि उन्नत जातका केराहरुबाट बढी उत्पादन लिन बिरुवा लगाए पछि , मलखाद प्रयोग गरे पछि र केरा पसाउने र कोसा लाग्ने समयमा सिंचाईको आवश्यकता पर्दछ ।  सुख्खा तथा धेरै गर्मि हुने क्षेत्रमा हप्तामा एक पटक , चिस्यान कायम रहने गहिरो माटो भएको क्षेत्रमा १५–२० दिनमा सिंचाई गर्नु पर्दछ ।  पंक्तिमा लगाएको केराको बगैचामा दुइ लहरको  बिचमा कुलेसा बनाई पानि लगाउन सजिलो हुन्छ ।  केराको फेदमा पानि जम्न भने दिनु हुदैन ।  धेरै चिस्यान हुने ठाउहरुमा बढी भएको पानीको निकासको राम्रो व्यवस्था गर्नु पर्दछ ।

बिरुवाको हेरचाह र काट्छाट

केरा मा काट्छाट भनेको आवश्यक संख्याभन्दा बढी नया कोथाहरु हटाउनु हो ।  माउबोटको ब्रिद्दि बिकासमा सघाउन , राम्रो उत्पादन लिन र उत्पादन लै नियमित गर्नका लागि करमा काट्छाट गरिन्छ ।

क) एउटा माउ बोटमा घरि लागिसके पछि अर्को माउबोत तयार पर्न विभिन्न उमेरका २ वटा कोथा राखी अरु कोथाहरु हटाउनु पर्दछ र अर्को कोथा माउ बोटको घरि पसाए पछि राख्नु पर्दछ ।  त्यसभन्दा अगाडी वा पछाडी जे  जति कोथाहरु  आउछन सबै काटेर हटाइ दिनु पर्दछ ।  यसरि फरक फरक समयमा कोथाहरु  राख्दा लगातार उत्पादन लिन सकिन्छ ।  कोथाहरु  हटाउदा पहिने फेद बाट काट्नु पर्दछ र त्यसपछि खुर्पिको सहयोगले माउबोट बाट छुट्टिने गरि उक्काउनु पर्दछ ।

ख) केराको गाज मा नया कोथाहरु राख्दा पहिलेको माउबोटको लाइनमा पर्ने गरि एउटा अगाडी र अर्को पछाडी गरेर राख्नु पर्दछ ।  यसो गर्दा लाइन नबिग्रने र अन्य कृषि कार्यहरु गर्न सजिलो हुन्छ ।

ग) माउबोटबाट केराको घरि काटी सकेपछि माउबोटलाई बीच भागबाट काटेर माथिको भाग हटाउने र बाकि बसेको थाम मा ५ ग्राम जति युरिया मल हालेर प्लाष्टिकले बाध्ही दिने जुन थाम बिस्तारै सड्दै जान्छ र पुरानो थाम मा भएको पोषक तत्व नया थाम मा जान्छ ।

घ) केराको बोटको स्वास्थ्य र उत्पादनको हिसाबले ३–४ वर्ष मा पुरै बगैचालई हटाइदिने र त्यस्तो जग्गामा सम्भव भए धान नभए अन्य बालीहरु लगाउनु पर्दछ ।

ङ) केराको काँइयो बनि सकेपछि घरिको टुप्पामा रहेको बुङ्गोलाई काटी हटाउनाले २–५%सम्म बढी उत्पादन भएको पाइएको छ ।  त्यस्तै केराको घरि राम्रोसंग बनि सकेपछि टुप्पा का ज्यादै साना कोसा भएको काइयोलाई हटाए मा बाँकी रहेको केराको तौलमा वृद्धि भएको पाइएको छ ।

केराको घरिलाई छोप्ने

केराको घरिलाई जाडो , धुलो , बिसादी , किरा , चरा आदि बाट जोगाउन बोरा वा प्लास्टिकको थैलोले छोप्ने गरिन्छ ।  निलो वा कालो प्लास्टिकको थैलो ले छोप्दा तापक्रम बढ्न गई ५–७ दिन अगाडी केरा पाकेको पाइएका छन् ।  घरिलाई छोप्दा थैलाको तल्लो भाग खुल्ला राख्नु पर्दछ । थैलाहरु नपाउने ठाउ मा घरिलाई पातहरुले पनि छोप्न सकिन्छ ।

घरि काट्नको लागि तयार भएको थाहा पाउने तरिका

केराको पहिलो बालि तयार हुन लाग्ने समय केराको जात , सो ठाउँको हावापानी , लगाएको कोथाको उमेर , मलखाद आदिमा भर पर्दछ । सामान्यतया केरा सारेको १२–१८ महिनामा केराको पहिलो बालि तयार हुन्छ । घारीमा भएको केरा छिप्पियो कि नाइँ, पाक्न तयार भयो कि भएन पत्ता लगाउन निम्न ३ कुराहरु मा ध्यान दिनु पर्दछ ।

१) केराका कोसाहरु गाढा हरियो बाट हल्का हरियोमा परिवर्तन भएमा,

२) केराका कोसाहरुलेत्रिभुज आकार परिवर्तन गरी गोलाकार रुप लिएमा,

३) केरा पाक्नको लागि परिपक्क हुन केरा पसाएको दिनबाट गर्मि समयमा ९०–१०० दिन र जाडो समयमा १२०–१६० दिन सम्म लाग्दछ ।

माथिका तिन वटा संकेतलाई विचार गरेर केराको घरि काटेर बजार पठाउन सकिन्छ । केराको घरि काट्दा करिब १ फूट को भेट्नो  राखेर काट्नु पर्दछ ।  धेरै टाढा को बजार लैजानु छ भने पाक्ने समय भन्दा एक सात पहिले घरि काटेर पठाउनु पर्दछ ।

उत्पादन

केराको उत्पादन माटो, हावापानी, जात र स्याहार सम्भारमा भर पर्दछ । बढी भिन्नता केराका जातहरुले गर्दा हुन्छ , किनभने होचा जातका केरा हरुको उत्पादन प्रति हेक्टर २५–३० टन सम्म हुन्छ भने अग्ला जातका केराहरुको उत्पादन प्रति हेक्टर १८–२० टन हुन्छ।

श्रोतः व्यवसायिक केराखेती सम्बन्धि जानकारी पुस्तिका, फरवार्ड नेपालको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को प्रकाशन

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles