Array

 रेन्बो ट्राउट माछापालन प्रविधि

 रेन्बो ट्राउट माछापालन प्रविधि:

परिचय:

रेन्बो ट्राउट चिसो तथा सफा पानीमा हुर्कने मांसाहारी बिदेशी माछा हो | यो माछा 1-21 डिग्री सेल्सिय ससम्मको तापक्रममा जीवित रहन्छ| तर वृद्धिका लागि भने 15-18 डिग्री सेल्सिय पानीको तापक्रम र 7 मिलिग्राम प्रति लिटर भन्दा बढी अक्सिजन चाहिन्छ| पानीको तापक्रम सरदर 10 डिग्री सेल्सियस भन्दा चिसो हुने स्थानमा यो माछा ढिलो  बढ्छ र त्यस्तो स्थानमा व्यवसायिक रुपमा पाल्न फाइदाजनक हुँदैन| यो माछालाई बढी प्रोटिनयुक्त दाना चाहिने र दानामा प्राणीजन्य प्रोटिनको मात्रा नभई नहुने हुनाले दाना महंगो हुने र माछाको मूल्य पनि अरु माछाको तुलनामा महंगो हुन्छ| तर यो माछा चिसो पानीमा हुने भएकोले ज्यादै स्वादिलो हुन्छ| मांसहारी भएतापनि यो माछालाई उच्च प्रोटिनयुक्त दाना खुवाएर पाल्न सकिन्छ| ट्राउट पालनका लागि पानीको pH 6.5-8.5 र अक्सिजन 7 mg/ltr रहेको पानी उपयुक्त मानिन्छ| पानीको तापक्रम सकभर एकनास रहने अर्थात् धेरै फरक नहुने भएमा राम्रो बृद्धि हुन्छ| तर पानी भने प्रशस्त बगिरहनुको साथै सफा र चिसो हुनु पर्छ|

माछाको आहारा:

प्रकृतिमा यो माछाले स-साना किरा तथा साना माछा खाने गर्दछ| सानो भुरालाई  40-45 प्रतिशत प्रोटिन भएको  दाना 7-8  पटक प्रत्येक घण्टामा दिइन्छ भने 10 ग्राम  भएपछि दिनको तीन-चार पटक दिइन्छ| तर 50 ग्राम भन्दा ठूलो भएपछि दिनको दुईपटक 35 प्रतिशत प्रोटिन भएको दाना दिनुपर्छ| माछालाई दाना  दिँदा शारीरिक तौलको आधारमा दिइन्छ| 5 ग्राम भन्दा सानो माछालाई खाए जति दाना दिनुपर्दछ, जुन माछाको  शारीरिक तौलको 6-10.5 प्रतिशतसम्म पर्न आउँछ| त्यसपछि 30 ग्राम सम्मको माछालाई माछाको तौलको 4-6.5% र त्योभन्दा माथिको आकारको माछालाई 1.5 देखि 2  प्रतिशत सम्म दिइन्छ|

माछा Stocking:

पानीको बहाब र मात्रा अनुसार Raceway मा  माछा स्टक  गरिन्छ| साधारणतया सानो भुरा हुर्काउन पोखरीको साइज 10 देखि 15 वर्गमिटर र बिक्री योग्य माछा राख्ने पोखरीको साइज 50 देखि 150 वर्गमिटर हुन्छ| बिक्री योग्य माछा राख्ने पोखरीहरु दुई किसिमबाट बनाउन सकिन्छ|

क) लहरे तरिकाले:

भिरालो जग्गा र पानीको स्रोत कम भएको ठाउँमा लहरे किसिमको पोखरी बनाउन राम्रो हुन्छ यस्तो किसिमको पोखरीमा माथिल्लो पोखरीहरुमा प्रयोग भइसकेको पानी पुनः तल्लो पोखरीहरुमा प्रयोग गर्न सकिन्छ|

 ख) समानान्तर तरिकाले:

राम्रो पानीको श्रोत भएको ठाउँमा समानान्तर किसिमको पोखरी बनाउन उपयुक्त हुन्छ| पोखरीहरुमा एकपटक प्रयोग भइसकेको पानीलाई पुनः प्रयोग गरिँदैन| जलाशयमा माछा को घनत्व कति राख्ने भन्ने कुरा पानीको प्रवाह आयतन र गुणमा निर्भर हुन्छ| पानीको प्रवाह छिटो भएमा माछाको वृद्धि राम्रो हुँदैन अर्कोतिर पानीको प्रवाह कम भएमा पोखरीको पिँधमा धेरै फोहोर जम्न गई अक्सिजनको कमी हुँदै जान्छ , त्यसकारण पोखरीको पानी हरेक घण्टामा पूर्णतया फेर्न आवश्यक पर्दछ|

रोग रोकथाम:

रेन्बोट्राउट माछालाई रोग लाग्नबाट बचाउन विशेष ध्यान दिनुपर्ने हुन्छ| जसको लागि पोखरी सधैं सफा राख्ने ,पानीको तापक्रम 20 डिग्री सेल्सियस सम्म कायम गर्ने र ठीक समय र ठीक मात्रामा दाना दिनुपर्ने हुन्छ| दानामा आवश्यक पोषक तत्व पर्याप्त हुनुपर्दछ, दानालाई राम्रोसँग स्टोर गर्ने, सकभर पोखरीमा सफा पानी मात्र लगाउने र पानीमा नाइट्रोजन  ग्याँस 0.4 ppm भन्दा कम हुनु पर्दछ| अन्यथा ट्राउट माछामा सजिलै रोग फैलनगई ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ|

उत्पादन:

उपयुक्त तापक्रम तथा दाना पाएमा यो माछा करिब 14-15 महिनामा 200-300 ग्राम साइजको  माछा  भई खान तयार हुन्छ| तर 5 देखि 10 ग्रामको माछा भुरा स्टक गरेमा करिब 10 महिनामै 200 देखि 300 ग्राम साइजको हुन्छ| एउटै उमेर को माछा पनि कुनै छिटो बढ्ने र कुनै ढिलो बढ्ने हुनाले सानो ठूलो हुने गर्दछ| त्यसैले बेला बेलामा साइज अनुसारको ठूलो-सानो छुट्याएर छुट्टाछुट्टै पोखरीमा राख्नु राम्रो हुन्छ| साधारणतया खानको लागि ट्राउट माछाको साइज 200 देखि 300 ग्राम भएको उत्तम मानिन्छ र ठूला ठूला होटलहरुमा पनि 200-300 ग्रामका माछाको माग बढी हुन्छ| व्यवस्थापनको पक्षमा ध्यान दिएमा र सन्तोषजनक वृद्धि भएको अवस्थामा प्रति वर्ग मिटर बाट 10 देखि 20 किलोसम्म ट्राउट माछा उत्पादन गर्न सकिन्छ|

                                                                                                             लेखक – अर्जुन न्यौपाने

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles