रायो खेती प्रविधि

0
613

 रायो खेती प्रविधि

जाडो तथा हिउँद महिनामा हुने विभिन्न हरियो सागपात  मध्य रायोको साग एक प्रमुख तरकारी हो| नेपालमा रायोको नामले प्रचलित यो तरकारी क्षेत्रफल र उत्पादनको आधारमा  सागपात तरकारीहरु मध्ये पहिलो स्थानमा आउँछ| यसलाई मुख्य गरी  नेपालको तराई देखि उच्च पहाड सम्म, बर्खे तथा हिउँदे बालीको रुपमा खेती गर्ने गरिन्छ|  यसमा भिटामिनहरु A,B,C र E तथा फलाम क्याल्सियम र प्रोटिन प्रसस्त मात्रामा पाइन्छ|

हावापानी:

यो तराई र मध्य पहाडमा हिउँदे तरकारीका रुपमा र उच्च पहाडमा गर्मीमा लगाइने बाली हो | यसले तुषारो  खप्न सक्छ|  चिसो अवस्थामा पातको गुणस्तर असल हुन्छ भने गर्मी अवस्थामा छिट्टै  डाँठ पलाई पातको गुणस्तर    घट्दछ|  यसको  खेतीका लागि छोटो दिन, मध्यम तापक्रम र ओसिलो वायुको प्रभाव भएको समयमा  राम्रो मानिन्छ|

माटो:

रायो प्रायः सबै किसिमको माटोमा खेती गर्न सकिन्छ, तर प्रशस्त प्राङ्गारिक पदार्थ भएको र पानी अड्याएर राख्न सक्ने क्षमता बढी भएको दोमट माटो यसको लागि उत्तम मानिन्छ| प्राङ्गारिक पदार्थ बढी भएको माटोमा लगाइएको रायका पातहरु राम्ररी फैलने, नरम र खाँदा पनि स्वादिलो हुन्छ|

जातहरु:

नेपालमा व्यवसायिक रुपमा खेती गरिने रायोका जातहरु मध्ये खुमल चौडा पात, मार्फा चौडा पात, खुमल रातोपात  आदि रहेका छन्|

बीउ दर:

रायोको खेतीका लागि सिधै बिउ छरेर पनि उत्पादन लिन सकिन्छ, भने बेर्ना राखेर लगायको रायो बाट राम्रो र पछिसम्म पनि उत्पादन लिन सकिन्छ | यसरी बीउ राखेर बेर्ना सार्न को लागि ३० ग्राम प्रति रोपनी बीउको आवश्यकता पर्दछ|

बाली लगाउने समय:

विशेषगरी नेपालको तराई देखि उच्च पहाड  सम्म रायोको सागको खेती जुनसुकै समयमा पनि गरिने भएतापनि व्यवसायिक  खेतीका लागि उच्च पहाडमा फाल्गुन देखि बैशाख सम्ममा लगाउन सकिन्छ भने मध्य पहाडका लागि भदौ देखि मंसिर सम्म गर्न सकिन्छ| त्यसैगरी तल्लो पहाडका साथै  समुद्री  सतह देखि १००० मी. भन्दा  कम भएको तराई क्षेत्रका लागि असोज देखि पुस महिना सम्ममा खेति गर्नु व्यवसायिक हिसाबले  फाइदाजनक मानिन्छ|

बाली लगाउने दुरी:

एक लाइनबाट अर्को लाइनको दुरी ३० से. मी र एक बोटबाट अर्को बोटको दुरि १०-१५ से. मी  राखेर रोप्न सकिन्छ|

मलखाद व्यवस्थापन:

रायो छिटो तयार हुने वालि भएकाले लगाउनु भन्दा अगाडि जमिनको तयारी राम्ररी गर्नुपर्दछ | यसको लागि २५ देखि ३० से. मी गहिराइसम्म प्राङ्गारिक मल प्रशस्तमात्रामा हाल्नु पर्दछ| यसका साथै कम्तीमा पनि ५० डोका कम्पोष्ट अथवा गोठेमल ५ केजी नाइट्रोजन, २ केजी फस्फोरस, र २ केजी पोटास प्रति रोपनीका हिसाबले  माटोमा मिसाउनु पर्दछ| 

सिंचाई:

बेर्ना सारेपछि राम्रोसँग नउमर्न लगातार हल्का सिंचाईको आवश्यकता पर्दछ, भने त्यसपछि आवश्यकता हेरी  सिंचाई दिनु पर्ने हुन्छ|

बाली संरक्षण:

रायोको सागमा धेरै प्रकारका किरा तथा रोगहरुले आक्रमण गर्ने  गर्दछन्| खास गरेर पुतली , लाहि ,थ्रिप्स् आदि किराहरुले बढी आक्रमण गर्ने हुँदा त्यस्ता कीराहरू लाई नियन्त्रण गर्नको लागि  रासायनिक विषादी भन्दा पनि तितेपाति, नीमको झोल ,खरानीका साथै गाई भैंसीको गहुँत  प्रयोग गरि नियन्त्रण तथा रोकथाम गर्नु पर्दछ|

बाली लिने समय:

बेर्ना सारेको २५ देखि ३० दिनमा पात  टिप्न लायकका हुन्छन्| पात टिप्दा बोटलाई असर नपर्ने गरी टिप्नुपर्दछ| बढी उत्पादन लिनको लागि कलिला तथा राम्ररी हुर्केका पातहरु लगातार टिप्नु पर्दछ| पातहरु बढी  छिपाएर ढिलो टिपेको अवस्थामा उत्पादन घट्न जान्छ|

उत्पादन:

जातअनुसार हरियो पात उत्पादन १३००- १८०० किलो /रोपनी  उत्पादन  लिन सकिन्छ|

अर्जुन न्यौपाने

कृषि प्रशिक्षक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here