Array

बालीनालीको कीरा व्यवस्थापनमा वनस्पतिको प्रयोग

 

बालीनालीको कीरा व्यवस्थापनमा वनस्पतिको प्रयोग

हाल सम्म नेपालमा परीक्षण गरिएकामा कीटनाशक गुणयुक्त वनस्पतिहरूमाअसुरो, लसुन, रामफल, हिङ, बोझो, गन्धेझार, तीतेपाती, परीद्रम, वनमारा, तोरी, अडिर, खिर्रो, चिराइतो, रिट्ठो, तुलसी, कपुर, दालचिनी, सिल्टीमुर, नीम, वकाइनो,पिरेझार, निबुवा, बोकेटिमुर, खुर्सानी, सूर्ती, ढुङग्रीफूल, सिमाली आदि पर्दछन्‌।

१. नीमको प्रयोग

नीमको बीउको बोक्रो हटाएर दिउल मात्र जम्मा गर्ने र तिनलाई जाँतो वा ग्राइन्डरमा पिँधैर एउटा पातलो कपडामा पोको पारी १२ घण्टा सम्म २० लि पानीमा ढडयाउने र सो ढाडिएको पोको लाई पानीमा राम्ररी निचोर्ने।यसपछि साबुनको २ ग्राम धुलो मिसाएर सो नीम पानी लाई  राम्ररी चलाउने। अब यसलाई बोटविरुवामा कीटनाशक विषादीको रूपमा प्रयोग गर्न सकिन्छ।

नीमको फलबाट धेरै प्रकारका कीराहरू मार्न वा हटाउन सकिन्छ। जस्तैः लाही, धानको पात खाने कीरा, बन्दाको पुतली, खपटे कीराहरू, पातबेरुवा, फल छेडने कीरा, धानको गबारोआदि।पाकेको फल वा गेडालाई जम्मा गरेर बाहिरको बोक्रा हटाएर घाममा सुकाउने। राम्ररी सुकेको बीउलाई बाँसको टोकरी, डालो, बोरा जस्ता सुख्खा भाँडामा सुरक्षित साथ राख्नेर आवश्यकता अनुसार झिकी धुलो बनाएर पिस्ने। करिब २ अंजुली गेडालाई पिसेर २ माना पानीमा घोल्ने। राम्ररी घोलेर करिब २४ घण्टा सम्म त्यसैराख्ने। अर्को दिन उक्त घोललाई कुनै कपडा वा जालीले छानेर थिग्रिएको भागलाई हटाउने र झोललाई कीटनाशक विषको रूपमा प्रयोग गर्ने। यसले बाली विरुवामा लाग्ने धेरै प्रकारका कीराहरू मार्दछ।

२. सूर्तीको प्रयोग 

सूर्तीका सुकेका पात या डाँठगरी जम्मा १ केजी लाई १५ लि. पानीमा २४ घण्टासम्म ढड्याउने, त्यसपछि सो मिश्रणलाई एउटा पातलो कपडा मा छान्ने, अनि त्यो छानिएको सूर्ती पानीमा एक मुठ्ठी सावुनको धुलो मिसाएर राम्ररी घोल्ने।यसपछि यो घोललाई स्प्रेयरले कीरा लागेको बालीमा तुरुन्तै छर्ने। यस झोलले विभिन्न किसिमका बालीमा लाग्ने कीराहरू जस्तैः लाही, उफ्रने खपटे, थ्रिप्स, फेदकटुवाआदि नियन्त्रण हुन्छ।

शंके कीरा र चिप्ले कीरा ले खासगरी तरकारी बालीमा रातको समयमा बढी क्षति पुर्याउँदछन्‌। यिनीहरूको नियन्त्रणको लागि सूर्तिको डाँठको धुलो छर्नाले चिप्लेकीराले हिडडुल गर्ने कम गर्छ र छालाको रंग परिर्वतन गरी शरिर माथिको भाग केही समय मानै सुन्निदै जान्छ र त्यसपछि मुख र पछाडिको भागबाट चिल्लोपदार्थ निकाल्छ।यसरी लेसिलो चिल्लो पदार्थ बढी जानथाले पछि शरीरमा चिस्यान कमभई ५ मिनेट भित्रैमा मर्दछ।

३. बकाइनोको प्रयोग

बकाइनोको १० देखि २० भाग हरियो पातको धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर छर्नाले बन्दाको लाही, धानको फड्के कीरा, धानको ढुग्रें कीरा नियन्त्रण गर्न सकिन्छ।खेतको बीच बीचमा बकाइनो लगाउनाले त्यसबाट हानिकारक विकर्षण हुने हुँदा बालीलाई सुरक्षित गर्न सकिन्छ।

४. सिस्नुको प्रयोग

सिस्नुको कलिला डाँठ र पातलाई एउटा भाँडोमा पानी राखी २४ घण्टा सम्म भिजाउने। यो पानीलाई जैविक विषादीको रूपमाप्रयोग गरी लाही र सुलसुलेलाई नियन्त्रण गर्न सकिन्छ।

सिस्नुको पात कुटेर ७ दिनसम्म अमिलिन दिने र ४ भाग पानीमा मिसाई छर्कनाले आलुको कमिला, लाही, लाभ्रे नियन्त्रण गर्न सकिन्छ।सिस्नु ५०० ग्राम, तितेपाती ५०० ग्राम थिचेर १ लिटर पानीमा भिजाउने र झोल निचोरेर छान्ने। छानेको भ्कोलमा २५० मिलिलिटर गाईभैंसीको गहुँत मिसाई छर्दा लाही, मिलि बग, कत्ले कीरा, थ्रिप्स कीरा नियन्त्रण हुन्छ।

५. असुरोको प्रयोग

असुरोको १ के. जी. पातलाई मसिनो गरी पिंधेर १ लिटर पानीमा मिसाई ३ दिनसम्म (दिउँसो घाममा समेत राखी) राखेर प्राप्त भएको गाढा रसमा अरु पानी मिसाएर त्यसलाई २५ देखि ७५ प्रतिशत सम्मको गाढा बनाई उपचार गरेको बन्दाकोपी समूहका विरुवामा लाग्ने लाही कीराहरूको नियन्त्रण भएको पाइएको छ।

असुरोका २०० ग्राम हरिया पातलाई दगल्च्याएर १ लिटर पानीमा १२ देखि १५ घण्टा सम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको (प्रत्येक हप्तामा १ पटकका दरले ४/५ पटक सम्म) बन्दाकोपीमा लाग्ने कीराहरू जस्तैः बन्दाको पुतली, भटमासको झुसिलकीरा, सुर्तीको पात खाने लाभ्रे र पीठमा ईंटको आकार भएको पुतलीको नियन्त्रण भएको पाइएको छ।

६. खरानीको प्रयोग

वैशाख देखि भाद्र सम्मको समयमा उफ्रने खपटे कीराले विरुवाको पातलाई छियाछिया बनाई नोक्सान गर्दछ।बिहान सित ओभाउनु अगावै १ भाग काठको खरानी र १ भाग कृषिचुनको मिश्रण बनाइ बाली नालीमा छर्कदा उफ्रने खपटे कीराको नियन्त्रण हुन्छ।

खरानी ३०० ग्रामलाई चालेर मसिनो बनाउनुपर्छ त्यसलाई २ वर्गमीटर को ड्याङ्गमा एकनाशले पर्ने गरीछर्ने।खरानीले नर्सरीमा बेर्ना कुहिने रोग रोकथाम गर्दछ। यसले रातो कमिला र लाही लाई केही हद सम्म व्यवस्थापन गरेको छ।

७. मेवाको प्रयोग

मेवाको १ के.जी. ताजा पातको टुक्रालाई १० लिटर पानीमा मिसाई त्यसमा २ चम्चा मट्टितेल र केही सावुन मिसाइ एकरात भिजाई बनाइएको मिश्रणलाई दोस्रो दिनमा प्रयोग गर्दा फडके, लाही कीरा नियन्त्रण गर्न सकिन्छ।

मुसा नियन्त्रण गर्न मेवाको स-साना टुक्राहरू खेतमा आलीको नजिक राखिदिने गर्नाले मुसाले मेवाखाँदा मेवामा भएको रसायन पदार्थले मुखभित्रको तन्तुलाई घाउ बनाई नोक्सानी पुर्याउँदछ।

८. तितेपातीको प्रयोग

तितेपातीको झोल १ भाग र ३ भाग पानी मिलाई छर्कनाले लाश्रे, झफ॒सिल कीरा र लाही नियन्त्रण हन्छ एक कीलो तितेपाती लाई राम्रोसँग थिच्नेर यसलाई ५ लि. पानीमा मिसाउने। यसबाट छानेर आएको रसलाई बनाउने बित्तिकै प्रयोग गर्नु पर्दछ।यसले झ॒सिलकीरा लाई नियन्त्रण गरेको पाइन्छ।

९. खुर्सानीको प्रयोग

पीरो खुर्सानीको पिसेको धुलो ५० ग्रामलाई एउटा भाँडामा १ लि, पानीमा राखी १० मि सम्म उमाल्ने र त्यसलाई सेलाउने। यो चिसो झोल लाई बिहान १० बजेदेखि दिउसो २ बजेसम्म छर्दा ९० प्रतिशत लाही नियन्त्रण भएको पाइन्छ।

१०. हलेदोको प्रयोग

हलेदो १ के.जी, राम्ररी पिसेर ३-४ लि, गाईको गहुँत पोल्ने र छान्ने। त्यसलाई १५-२० लि, पानीमा मिसाउने।यो हलेदो पानीमा ४ ग्राम प्रति लीटरका दरले सावुन वा लुगा धुने सर्फ मिसाएर बालीमा छर्कनाले लाही, सुलसुले, फौजीकीरा, झुसिलकीरा, धानको गबारो र पातबेरुवा, इटबुटे पुतली आदि कीराको नियन्त्रण हुन्छ।

११. बोझोको प्रयोग

बोझोको धुलोलाई सावुन पानीको घोलमा मिसाएर बालीमा छर्कदा लाही कीरा तथा खपटे कीरा लार्भा नियन्त्रण गर्न सकिन्छ।

१२. गाईको दुधको प्रयोग

गाइको दुध र पानी बराबर भाग मिसाएर प्रत्येक २ दिनको अन्तरालमा बोटको पात, डॉठ सबै भाग भिज्नेगरी स्प्रे गर्दा केराउ, टमाटर, खुर्सानी, जुकुनी, लहरे तरकारी र गहुँमा लाग्ने सेतो धुले ढुसी नियन्त्रण गर्न सकिन्छ।

१३.सयपत्रीको प्रयोग

सयपत्री फूलले कतिपय कीरा लाई प्रतिकार गर्दछ।अतः अन्य बालीसँग मिसाएर यसलाई लगाउनाले पनि सो बालीहरू मा कतिपय कीरा र जुकाहरू कम लाग्दछन्। यसका पात र बोटहरू बाली विरुवाका वरिपरि फिँजाई दिनाले पनि कतिपय कीराहरू भाग्दछन्। यसका फूल र पातहरू (१ भाग फूल र पातमा १० भागपानी) लाई कुटेर पानीमा ढड्याई प्राप्त भएको रस बोटविरुवामा छर्कनाले पनि कतिपय कीराहरू भाग्दछन्।

लेखक:

अतित राज खड्का, B.Sc. Ag

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles