प्लाष्टिक मल्चिङ प्रविधि र यसका विशेषता
परम्परागत कृषि प्रणाली देखि अहिलेको समयसम्म आइपुग्दा नयाँनयाँ प्रविधि प्रयोग गरी कृषिजन्य वस्तुहरूको उत्पादन तिर नेपालको कृषि पनि अघि बढिरहेको छ| यसैक्रममा बोट बिरुवामा चिस्यानको संरक्षण को लागि विभिन्न तरिकाहरु अपनाइएको पाइन्छ भने बिरुवामा चिस्यान को मात्रा कायम राख्न , झारपात नियन्त्रण गर्न, माटोको तापक्रम लाई स्थिर राख्नका साथै, उत्पादनमा वृद्धि ल्याउनको लागि प्लास्टिक मल्चिंग को प्रयोग गरिँदै आइएको छ|
के हो त मलचिङ प्रविधि ?
विरुवाको वरिपरिको माटोको सतहलाई कुनै पनि जैविक पदार्थ वा प्लास्टिकले ढाक्ने प्रविधि नै मल्चिङ प्रविधि हो जसबाट बिरुवा वा यसको जराको तापक्रमको बढ्ने वा घट्ने प्रक्रियामा प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ| बिरुवामा मल्चिङ प्रविधि दुई तरिकाबाट गर्न सकिन्छ|
-
जैविक सामग्री:
कृषिका अवशेष( धानको पराल ,मकैका पात ,तोरीको पात, काण्ड ), जैविक मल , काठको धुलो आदिद्वारा मल्चिङ गरिने प्रविधिलाई जैविक मलचिङ भनिन्छ|
-
प्लास्टिक मलचिङ :
प्लास्टिकको प्रयोग गरी मल्चिङ गरिने प्रविधिलाई प्लास्टिक मलचिङ भनिन्छ| जैविक सामग्रीको प्रयोग गरी मल्चिङ गर्दा वनस्पतिका अवशेषहरु छिटै कुहिने हुनाले बारम्बार मल्चिङ को आवश्यकता पर्दछ| त्यसैले व्यवसायिक खेतीका लागि प्लास्टिक मलचिङ एकदमै उपयुक्त मानिन्छ| मल्चिङ गर्ने प्लास्टिक सूर्यको परावैजनी किरणले कुनै असर नगर्ने खालको हुने हुँदा बिरुवाले सिधै प्रकाश पाइ बिरुवाको वृद्धि विकास छिटो हुने हुँदा फाइदाजनक मानिन्छ| यो सस्तो , सजिलैसँग उपलब्ध हुने सबै मोटाई अनि रंगमा पनि उपलब्ध हुन्छ| प्लास्टिक मल्चिङका लागि प्राय कालो र सेतो रङको प्लाष्टिक प्रयोग गरिन्छ|
-
मल्चिङ का लागि प्लास्टिक को छनौट:
मल्चिङ का लागि सामान्यतया 90 -120 cm चौडाइ भएको प्लास्टिकको प्रयोग हुने गर्दछ, जुन सबै प्रकारका तरकारी खेतीका लागि उपयुक्त मानिन्छ| त्यसैगरी कति मोटाइ भएको प्लास्टिकको प्रयोग गर्ने भन्ने कुरा लगाउने बालीको प्रकारमा भर पर्दछ | विशेषगरी एक वर्षीय बालिका लागि 20 देखि 25 माइक्रोन मोटाइ भएको प्लास्टिक उपयुक्त हुन्छ भने बहुवर्षिय लामो अवधिका बालीका लागि 50 देखि 100 माइक्रोन मोटाइ भएको प्लास्टिक उपयुक्त हुन्छ|
-
प्लास्टिक बिछ्याउने तरिका:
प्लास्टिकलाई बिरुवा लगाउनु भन्दा अगाडी नै विच्छ्याउनु राम्रो मानिन्छ| सर्वप्रथम बाली लगाउने खेत/बारी राम्रोसँग खनजोत गरी ढुंगा तथा झारपातहरू हटाउनुपर्छ| त्यसपछि 10-15 cm उठेको ड्याङ्ग बनाई 125-150 cm को चौडाइमा प्लास्टिक बिछ्याउन पर्दछ| त्यसपछि आफूले लगाउने बालीलाई आवश्यक पर्ने दुरी अनुसार रेखाङ्कन गरि मात्रै प्लास्टिक बिछ्याउनु पर्दछ र उक्त plastic माथि मोटो पाइप वा हतौडाको सहायताले प्वाल पार्नु पर्दछ| प्वाल पारी सकेपछि प्लास्टिकको दुवै छेउको टुप्पोलाई हावाहुरीले असर नगरोस् भनी माटो हाली पुर्नुपर्छ| यसको लागि कामदार लगाएर गर्दा समय र धन दुवैको नोक्सानी हुने हुँदा व्यवसायिक रुपमा प्लास्टिक मल्चिंग को प्रयोग गरी खेती गर्ने किसानले ट्याक्टर द्वारा plastic बिछ्याउन उपयुक्त हुन्छ|
-
प्लास्टिक मल्चिङका फाइदाहरु:
- मुख्यतया बिरुवाको जराको सतहमा पानी जम्न पाउँदैन|
- विरुवाको चिस्यान तथा माटोको तापक्रमलाई एकसमान बनाउन मद्दत गर्दछ|
- हावा र पानी द्वारा हुने माटोको क्षतिलाई कम गर्दछ|
- झारपात नआउने हुँदा बिरुवालाई चाहिने पोषक तत्व सजिलै उपलब्ध हुन्छ|
- विरुवाको वृद्धिको लागि अनुकूल वातावरण प्रदान गर्दछ|
- यो विधि अपनाउँदा माटोको सतहबाट पानीको मात्रा उडेर जाने समस्या नहुने हुँदा पानीको पनि बचत हुन्छ|
- झारहरुको वृद्धिमा अवरोध ल्याउँछ|
- बालीनालीमा उत्पादनमा लाग्ने लागत मूल्य घटाउदै आम्दानी बढाउन मद्दत गर्दछ|
-
प्लास्टिक बिछ्याउने समयमा ध्यान दिनुपर्ने कुराहरु:
- खेतिको लागि चाहिँले मलखादहरु प्लास्टिक भुइँमा बिछ्याउने भन्दा पहिले नै मिलाउनु एकदम उपयुक्त हुन्छ|
- बीउ वा बिरुवा प्लास्टिकको प्वालको सिधा हुनेगरी लगाउनुपर्दछ|
- राम्रोसँग खनजोत गरिसकेपछि खेतबारीमा भएका ढुंगा काठका टुक्रा तथा झारपातहरु हटाउनुपर्दछ अन्यथा अनावश्यक ठाउँबाट प्लास्टिक च्यातिन सक्छ|
7. सिंचाइको व्यवस्था:
प्लास्टिक मल्चिङ को प्रयोग गरिएको खेतीमा थोपा सिंचाई विधि उपयुक्त हुन्छ| यो विधिमा Lateral लाई प्लास्टिक को मुनि राखिन्छ जसबाट सिंचाई राम्रोसँग र सजिलोसँग हुन्छ तथा बिरुवाको चिस्यान को नियन्त्रण हुन्छ| थोपा सिंचाईको लागि पाइप बिछ्याउ पानी बिरुवाको जरामा पर्ने गरी जडान गर्नु पर्दछ|
लेखक – अर्जुन न्यौपाने
कृषि प्रशिक्षक