Monday, October 7, 2024

धान बालीमा लाग्ने प्रमुख रोगहरु र व्यवस्थापनका उपायहरु

धान बालीमा लाग्ने प्रमुख रोगहरु र व्यवस्थापनका उपायहरु

धान विश्वको एक प्रमुख खाद्यान्न बाली हो।वैज्ञानिक नाम ओरिजा सेटिभा बाट परिचत यो बनस्पति वैदिक साहित्य एंव पुरातात्वक उत्खनमा धान सबैभन्दा पुरानो उत्पादित वालि मध्य एक भएको प्रमाण पाईएको छ। पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ।तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ।उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ।धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो।एशियाली मुलुकहरूलाई त धानको बास्केट नै मानिन्छ किनभने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ।विश्वमा जति धान उत्पादन हुन्छ त्यसको ६/७ प्रतिशत मात्र बिक्री वितरणका लागि बजारमा जान्छ।उच्च पहाडी क्षेत्रमा माछापुच्छे, छोमरुङ, जुम्ली मार्सी जातका धानहरु लगाउन सकिन्छ भने पहाडी क्षेत्रमाखुमल–४, खुमल–६, खुमल–७, खुमल–८, खुमल–१०, खुमल–११ र तराई क्षेत्रमाराधा–४, विन्देश्वरी, हर्दिनाथ–१, सावित्री, मकवानपुर–१, सुख्खा धान–१, २ र ३, सावासब–१, स्वर्णसब–१ जातका धानहरु लगाउन सकिन्छ।

झारपात नियन्त्रण:

धान खेति गर्दा खेतमा अनेकौ झारपातले गर्दा उत्पादनमा ह्रास ल्याईरहेको हुन्छ।प्राय: धानका खेतमा पाईने झारहरु यस प्रकारका छन् : सामा झार, मोथे झार, काने झार, गन्धे झार, चिम्के झार। प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोलमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने,वाछरुवा धानमा झार नियन्त्रण गर्न पेन्डिमेथालिन ३० प्रतिशत रासायनिक विषादी ४ मिली प्रति लिटर पानीमा मिसाइ १ रोपनीमा ३० लिटर (प्रति कठ्ठा २० लिटर) का दरले रोपेको तीन दिन भित्र छर्ने।रोपुवा धानमा ब्युटाल्कोर ५० इसी रासायनिक विषादी १.५ जिली प्रति लिटर पानीमा २५ लिटर झोल मिसाएर प्रति रोपनी (प्रति कठ्ठा १६ लिटर) मा तीन दिन भित्र छर्ने।

धान बालीमा लाग्ने प्रमुख रोगहरु र व्यवस्थापनका उपायहरुः

१.   ब्लास्ट रोग (Blast)

 ब्लास्ट रोग धानको प्रमुख समस्या हो। यस किसिमको समस्या धानको पात तथा धान को डन्ठीको गाठ अनि बालाको गर्दन मा मुख्य रुपमा देखिने भएकोले यसलाई नेक ब्लास्ट पनि भनिन्छ । नेक ब्लास्टले नै धानको उत्पादनमा ठुलो नोक्सान गर्ने गर्दछ प्राय यो रोग सुक्खा मौसम, आद्रता बढी अनि रातको तापक्रममा अलि चिस्यान हुने अवस्थामा सक्रमण बढी हुने गर्दछ ।तसर्थ हामी यो बेला अलि बढी सजक हुनु पर्ने देखिन्छ।धान खेतमा सन्तुलित मात्रामा खाद्य तत्वको कमि हुन जादा यो समस्या हुन्छ भने बेसिक माटोमा नाइट्रोजन तत्व हुने हुदा यो समस्या बढी नै देखिन्छ।

रोगका लक्षणहरुः

यस रोगको लक्षण भनेको पातमा ससना सेता टका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन।बाला देखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छ।

रोग व्यवस्थापनका उपायहरुः

रोग अबरोधक जात जस्तै  IR-36 IR-64, रोग मुक्त बिउको प्रयोग गर्नुपर्दछ।सन्तुलित मात्रामा मलको प्रयोग गर्नुपर्दछ।धान बालीमा पानीको सतह एउटै कायम गर्ने र सुक्खा नगराउने पनि एउटा उपाय हो।धान रोपेको स्थान्तरण गरेको २० देखि २५ दिन पछि Pseudomonas fluorescence ४ ग्राम प्रति लिटर को हिसाबले छर्ने।बिउँलाई tricyclazole 75% WP वा carbendazim 50% WP २ ग्राम प्रति लिटर पानीमा मिसाई भिजाउने वा बिरुवालाई २०-२५ मिनेट सम्म डुबाउन पर्दछ।

२.   धान बालीको पातको फेद डढुवा रोग/सिथ ब्लाइट (Sheath Blight)

 यस रोगको जिवाणु राइजोक्टोनीया सोलानी (Rhizoctonia solani) हो। यस रोग फैलिने उपयुक्त अवस्था भनेको गाँज आउने (Tillering) देखि बाला लाग्ने (Heading) अबस्था सम्म हो।यस रोगका लागि उपयुक्त तापक्रमः२८-३२ डिग्री सेल्सियस हो भने उच्च सापेक्षिक आर्द्रता ८५% भन्दा बढी हो। लगातार वर्षा ,धानको बाक्लो रोपाई, माटोमा नाइट्रोजन तत्वको उच्च मात्रा भएमा पनि यो रोग लाग्ने गर्दछ भने रोगका जिवाणुका श्रोतहरु विउ, घाँसे झारपातहरु र रोगग्रस्त बालीका ठुटाहरुमा रहेका ढुसीका sclerotial bodies हुन्।

रोगका लक्षणहरुः

पातको फेदमा अण्डाकार खैरौ हरियो रंगको थोप्लाहरु देखिन्छन्। पछि यी थोप्लाहरुको आकारमा वृद्धि भई बेआकारको बन्दछ। प्रकोप बढी भएमा यी थोप्लाहरुपातमा समेत पुग्छन् र पुरै पात डढ्छ। फलस्वरुप पूरै बोट डढेको जस्तो देखिन्छ।

रोग व्यवस्थापनका उपायहरुः

रोगमुक्त स्वस्थ बिउको प्रयोग गर्ने।अघिल्लो बालीका ठुटा, पराल तथा बैकल्पिक आश्रय झारपातहरु हटाउने वा जलाउने।माटो परिक्षण नतिजाका आधारमा सन्तुलित मात्रामा मलखाद्यको प्रयोग गर्ने। नाईट्रोजनयुक्त मलखाद्यको बढी प्रयोगले विरुवाको वनस्पतिक बृद्धी धेरै भई रोगले सजिलै आक्रमण गर्न सक्छ। साथै पोटास मलको प्रयोगमा विशेष जोड दिने।खेतमा नियमित पानी नजमाउने। बेला बेला खेतमा पानी सुकाउने। पानीको निकासको राम्रो व्यवस्था मिलाउने।धान बाक्लो नरोप्ने।कार्वेन्डाजिम ५०% WP विषादी २ ग्राम प्रति के.जी. विउमा मिसाएर विउ उपचार गर्ने। निमको पिना ५ केजी प्रति कठ्ठा र गोठेमल/कम्पोष्ट ४०० केजी प्रति कठ्ठाको दरले प्रयोग गर्दा निकै उपयोगी पाइएको छ।साथै जैविक विषादी ट्राइकोडर्मा भिरिडिको प्रयोगले समेत यो रोग नियन्त्रण गर्न मद्दत गर्दछ।

३.   खैरा रोग (Khaira disease)

यो रोग जिङ्क (Zinc) तत्वको कमिले हुने गर्दछ।जिङ्क (Zinc) तत्वको कमिले हुने यो रोगको लक्षण भनेको धानको बेर्नामा पातको मूख्य नशा हरियो नै रहि पातको फेद र किनारबाट पहेलोपना शुरु भएर टुप्पोतिर सर्दै जान्छ। लक्षण देखिएको पातहरु काण्डको वरिपरि थुप्रिएर बसेको हुन्छ र यो समस्या भर्खरको (कलिलो) र बिच उमेरको पातहरुमा सामान्यतय बढी देखिन्छ।

रोगका लक्षणहरुः

यो रोगको लक्षण धान रोपको २-४ हप्तापछि तल्लो पातको मसिना नशाको बिचमा पहेलो देखिन्छ। यसको साथ साथै पातमा खैरो रंगका मसिना थोप्लाहरु आउँछन्। बिस्तारै बिस्तारै यी थोप्लाहरु एक आपसमा जोडिएर ठुला हुदै जान्छन् र पुरै पात खैरो वा बदामि रंगको हुन जान्छ । रोगि विरुवा को बृद्धि कम भई बोट होचो हुने, गाँज कम लाग्ने र पुरै बोट मर्न पनि सक्छ। जिङ्क तत्वको कमि भएर जराहरुको बिकास रोकिन्छ र जराहरु खैरो रंगमा परिवर्तन हुन्छ। अन्तिम अवस्थामा पूरै पात खिया लागेको जस्तो खैरो रंगको देखिने हुनाले यसलाई खैरा रोग पनि भनिन्छ।

जिङ्क तत्वको कमि हुनुका कारणहरु

धेरैजसो क्षारीयपन भएको बलौटे माटो जसमा खनिज पदार्थ कम हुन्छ।माटोमा फोस्फोरस र क्यालसियमको मात्रा बढी भएमा बिरुवामा जिङ्कको उपलब्धता कम हुन्छ।बिरुवाको वनस्पतिक बृद्धि अवस्थामा माटो धेरै समयसम्म चिसो र भिजेको रहेमा यो समस्याको रुपमा आउछ।

रोग व्यवस्थापनका उपायहरुः

नाईट्रोजन र फस्फोरस मल सिफारीस मात्रा भन्दा बढि प्रयोग नगर्ने। जिङ्क र फस्फोरस मलको प्रयोग एकैपल्ट नगर्ने। खेतमा पानीको निकासको राम्रो प्रबन्ध मिलाउने ।जिङ्कतत्बको कमि भएको जग्गामा २०-२५ किलोग्राम जिंङ्क सल्फेट प्रति हेक्टर(30 कठ्ठा) का दरले धान रोप्नु भन्दा अगाडी प्रयोग गर्ने। यसरी एक पटक जिंक सल्फेट प्रयोग गरिसकेपछि कम्तिमा ३ बर्ष सम्म फेरी प्रयोग गर्नु पर्दैन।धान रोपि सकेपछि यो समस्या आएमा ५ किलोग्राम जिङ्क सल्फेट र २.५ किलोग्रम चुन (घर पोत्ने चुन ) प्रति एक हजार लिटर पानीमा मिसाई एक हेक्टरका दरले छर्ने । यो आवश्यकता हेरी १०-१२ दिनको फरकमा २ पटक सम्म छर्नुपर्ने हुनसक्छ । यसको सट्टा बजारमा पाईने चेलामिन (जिंक मिक्चर) २ ग्राम प्रति लिटर पानीका दरले मिसाई छर्न पनि सकिन्छ। बेर्नामा जिङ्क तत्वको कमि देखिएमा रोपाइ गर्नु भन्दा अगाडी बेर्नाको जरालाई २% को जिंङ्क अक्साइड (ZnO) को झोलमा डुबाएर रोप्दा यो समस्याको समाधान गर्न सकिन्छ।

४.   धान बालीको व्याक्टेरियल पात डढुवा रोग (Bacterial Leaf Blight)

यस रोगको जिवाणु Xanthomonas oryzae pv. oryzae हो।यस रोगका लागि उपयुक्त तापक्रम २५-३४ डिग्री सेल्सियस हो भने उच्च सापेक्षिक आर्द्रता ७०% भन्दा बढी हो। लगातार वर्षा र हावाहुरी, धानको बाक्लो रोपाई, माटोमा नाइट्रोजन तत्वको उच्च मात्रा भएमा पनि यो रोग लाग्ने गर्दछ भने रोगका जिवाणुका श्रोतहरु विउ, घाँसे झारपातहरु र रोगग्रस्त बालीका ठुटाहरु हुन्।

रोगका लक्षणहरुः

प्राय जसो पातको किनारावाट पानीले भिजेको जस्तो नागबेली (Wavy) धर्साहरु देखिन्छन्। पछि गएर यो भाग पराले रंगमा परिणत हुन्छ। रोगी पातलाई काटेर सफा पानी भरिएको सिसाको ग्लास वा टेष्ट ट्युवमा नचलाई राखेमा काटिएको भागबाट शाकाणु पानीमा झरेको प्रष्ट देखिन्छ। यो रोगको अर्को लक्षण हो बोट ओइलाउने। रोगको शाकाणु बोटको पुरै भागमा फैलिन्छ र गाँज ओइलाई मर्न थाल्छन्। यसलाई क्रेसेक (Kresek) अवस्था भनिन्छ। क्रेसेक रोपाई गरेको २-३ हप्ता पछि शुरु हुन्छ। रोगग्रस्त बोटको डांठलाई काटी निचोर्दा हल्का पहेलो रंगको पिप जस्तो अर्ध तरल पदार्थ निस्कन्छ।

रोग व्यवस्थापनका उपायहरुः

रोगमुक्त स्वस्थ बिउको प्रयोग गर्ने।रोग प्रतिरोधक जातहरु जस्तै: जानकी, सावित्री, हर्दिनाथ-१ र २, राधा सिरिज, चैते-२ र ४, सुख्खा सिरिज, वर्षे-२, शाम्वा मन्सुली शव-१ आदि।हिले व्याडको सट्टा धुले व्याड राख्ने्।पानी भएको ठाँउमा यो रोगका शाकाणुहरु बढी क्रियाशील हुन्छन्।बोटलाई सकभर घाउचोट लाग्नबाट बचाउने र धानको टुप्पा काट्ने चलनलाई हटाउने जसले गर्दा रोगको शाकाणु सजिलैसँगै बोट भित्र पस्न सक्दैन।अघिल्लो बालीका ठुटा, पराल तथा बैकल्पिक आश्रय झारपातहरु हटाउने वा जलाउने।माटो परिक्षण नतिजाका आधारमा सन्तुलित मात्रामा मलखाद्यको प्रयोग गर्ने। नाईट्रोजनयुक्त मलखाद्यको बढी प्रयोगले विरुवाको वनस्पतिक बृद्धी धेरै भई रोगले सजिलै आक्रमण गर्न सक्छ। साथै पोटास मलको प्रयोगमा विशेष जोड दिने।खेतमा नियमित पानी नजमाउने। समय समयमा पानी कटाइ राख्नेज।ब्याक्टेरियाजन्य जैविक विषादी सिउडोमोनास फ्लोरिसेन्स(Pseudomonas fluorescens) १५-२० ग्राम प्रति लिटर पानीमा १ केजी बिउलाई मिसाएर करिब १० घन्टा भिजाएर उपचार गर्ने साथै तातो पानीले पनि (५0-५५ डिग्री सेल्सियस) बिउ उपचार गर्न सकिन्छ।(विउ उपचार सम्बन्धि बिस्तृत जानकारीका लागी अधिल्ला पोष्टहरु हेर्नुहोला।गाईको ताजा गोबर ५० ग्राम प्रति लिटर पानीका दरले घोल बनाई त्यसलाई छानेर छर्दा यो रोग केही हदसम्म नियन्त्रण भएको पाइएको छ।रोग लागि सकेपछि विषादी जस्तै- Streptomycin Sulphate 90%+ Tetracyclin Hydrochloride 10%( एग्रिमाईसीन-१०० अथवा प्लान्टोमाईसीन १.५ ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्ने अथवा कपर अक्सिक्लोराईड (copper oxy-chloride) २ ग्राम प्रति लिटर पानीका दरले मिसाएर स्प्रे गर्नुपर्दछ। Bleaching powder १.५ के.जी. प्रति कठ्ठाको दरले सिचाईको पानी सँगै प्रयोग गर्दा यो रोगलाई फैलिनबाट बचाउन सकिन्छ।

५.   फेद कुहिने रोग  (foot rot): 

रोगका लक्षणहरुः

बिरुवा अग्लो भई पहेलो हुन्छ र अन्तमा फेद कुहिएर बिरुवा मर्दछ तथा तल्लो अख्लाहरूबाट जरा निस्कन्छ भने फेद कुहिने रोग लागेको बुझिनु पर्छ।

रोग व्यवस्थापनका उपायहरुः

यदि फेद कुहिने रोग लागेको छ भने त्यस खेतबाट बिरुवालाई उखेलेर नष्ट गर्नु पर्छ भने रोगी बोट भएको खेतबाट बीउ संकलन गर्नु हुँदैन ।कार्वेनडाजिम ५०% ढुसीनाशक विषादी २ ग्राम प्रति के.जि. बीउका दरले उपचार गरी ब्याड राख्नुपर्छ साथै रोग अवरोधक जात लगाउने  तर खुमल -4 जस्ता रोग नसहने जात नलगाउने।

६.   खैरो थोप्ले रोग (Brown spot): 

रोगका लक्षणहरुः

यो रोगको जीवाणुलाइ हेल्मिन्थोस्पोरियम ओराइजी भानिन्छ । यो रोगको लक्षणहरुमा पातमा , दानामा र अन्य हरियो भागमा खैरा थोप्लाहरू हुन्छन्। सुरुमा थोप्लाहरू अंडाकार हुन्छन् । थोप्लाको बिचमा फुस्रो खरानी रंग र चारैतिर हल्का पहेंलो किनाराले घेरिएको हुन्छ ।

रोग व्यवस्थापनका उपायहरुः

अवरोधक जात प्रयोग गर्ने।संतुलित मात्रामा मल प्रयोग गर्ने।तातो पानी वा रोगनासक औसधिले बिऊ उपचार गर्ने।सिरेसन वा बेभिस्टिन ३ ग्राम प्रति किलो ग्राम बिउको दरमा उपचार गर्ने।स्वस्थ धान खेतको बिऊ प्रयोग गर्ने। प्रांगारिक मल तथा कम्पोस्ट मल हाली माटोको अवस्था सुधार्ने।

बबि बस्नेत
कृषि ज्ञान केन्द्र, सोलुखुम्बु

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles