Array

कसरी गर्ने कौसि खेति?

कौसि खेति प्रविधि

तारा रेग्मी

Institute of Agriculture and Animal Science

परिचय

घरको छत, बरण्डा आदि स्थानमा गरिने कुनै पनि कृषि कर्मलाई कौसि खेति भनिन्छ। कौसि खेति गमलामा गरिने भएतापनि यसैमा सिमित भने छैन। प्राचिन नेपालमा कौसि खेतिको महत्व त्यति नभएतापनि आजको समयमा यसको महत्व निकै बढेको पाइन्छ। विशेषगरि अहिलेको लकडाउनको समयमा कौसि खेतिमा लागेर मानिसहरू आफ्नो साँझ बिहानको समय व्यतित गरिरहेका छन्।

कसरी गर्ने कौसि खेति?

१. भाँडा छनौट

सर्वप्रथम हामिले कौसि खेतिको लागि आवश्यक पर्ने भाँडाहरूको व्यवस्था मिलाउनु पर्दछ। हामिले प्रयोग गर्ने भाँडाहरू सकेसम्म छतलाई कम भार पर्ने खालको हुनुपर्छ। हामिले गमला (माटो, प्लाष्टिक, सिमेन्ट, फलाम), पानीका जार, ड्रम आदि प्रयोग गर्न सक्छौँ। कौसि खेति कै लागि बजारमा विशेष भाँडाहरू पनि पाइन्छन। यसको लागि ठ्याक्कै यस्तै भाँडो हुनुपर्छ भन्ने चाहिँ छैन। बोरा, थर्मोकोल, थोत्रो बाल्टिन, बाटा, नर्सरि ट्रे, अण्डाको बोक्रा, हेल्मेट, कार्टुन आदिको प्रयोग भइरहेको पाइन्छ।

२. माटो

कौसि खेतिको लागि हलुका माटो प्रभावकारी हुन्छ भने माटोको पि. एच. ६.५- ७.५ हुनुपर्छ। माटो हलुका बनाउने तरिका-

  • माटो: मल: बालुवा- १:२:१
  • कोकोपिटको प्रयोग (नरिवलको जटाबाट बनाईन्छ)
  • मधुमतिको प्रयोग (नरिवलको जटाको ईँटा)
  • बायोचारको प्रयोग (काठ जलाएर बनेको अँगारलाई धुलो बनाई तयार पारिएको)
  • माटो: काठको धुलो: मल: बालुवा- १:१:१:१

यसरी हलुका बनाएको माटोलाई उपयुक्त भाँडोमा माथिल्लो १० से. मि. खालि छोडेर भर्नुपर्छ।

कोकोपिट

कोकिपिट नरिवलको जटाबाट बनाइन्छ। नरिवलको जटामा अत्याधिक मात्रामा NaCl र KCl पाइने हुनाले कोकोपिट बनाउनु भन्दा पहिला जटालाई प्रशोधन गर्नुपर्छ। प्रशोधन नगरिएको कोकोपिटको प्रयोगले माटोको पि. एच. लाई परिवर्तन गर्छ र बोटबिरूवाले सन्तुलित पौष्टिकता प्राप्त गर्न सक्दैन। हाइड्रोपोनिक्स प्रविधिमा कोकोपिटको प्रयोग व्यापक भइरहेको छ। कोकोपिटमा NaCl र KCl को मात्रा Electrical Conductivity(EC meter) र Total Dissolved Solids (TDS meter)ले मापन गरिन्छ। गुणस्तरिय कोकोपिटमा करिब ०.६-०.८ mS/cm EC, TDS ७५०-१५०० ppm र पि. एच. ५.८-६.८ हुन्छ।

३. बालि छनौट

ठ्याक्कै यहि बालि लगाउनु पर्छ भन्ने कुनै ठोस मापदण्ड नभएतापनि ठूलो आकारको वृक्ष अथवा टाढा सम्म जरा फैलिने खालको कुनै बालि वा बोटबिरुवा कौसि खेतिमा लगाउनु हुँदैन। यसबाहेक अन्य बालि छनौट गर्दा कौसिको आकार, सूर्यको प्रकाशको उपलब्धता, हावाहुरिको दिशालाई ध्यान दिनुपर्छ।

  • लहरे बालिहरू जस्तै काँक्रा, घिरौँला, करेला, फर्सि, चिचिन्ना, लौका लगाउन सकिन्छ।
  • विभन्न प्रकारका सिमि, बोडि, भटमास, केराऊ लगाउन सकिन्छ।
  • विभिन्न प्रकारका सागसब्जि, धनियाँ, लसुन, प्याज, अदुवा, हलेदो लगाउन सकिन्छ।
  • गोलभेँडा, आलु, खुर्सानि, भाण्टा, भिण्डी लगाउन सकिन्छ।
  • फलफूलहरूमा स्ट्रबेरी, अम्बा, कागति, सुन्तला, आँप, अनार, स्याऊ लगाउन सकिन्छ र नियमित काँटछाँट गर्नुपर्छ।
  • फुलहरूमा वृक्ष आकारका बाहेक प्राय सबै लगाउन सकिने भएतापनि नियमित काँटछाँट तथा अन्य वैज्ञानिक विधिको प्रयोगद्धारा वृक्ष आकारका फुलहरू पनि लगाउन सकिन्छ।
  • औषधिजन्य बालिहरू जस्तै- एलोभेरा, तुलसि, निम, हर्रो, बर्रो, धतुरो, मरटि, आदि लगाउन सकिन्छ।

४. मलखाद व्यवस्थापन

कौसि खेतिमा रसायनिक मलको प्रयोग भन्दा अर्गानिक मलको प्रयोग गर्नुपर्छ जस्तै कमपोष्ट मल, गोठे मल र भर्मिकमपोष्ट मल।

४.१. कमपोष्ट मल बनाउने तरिका

झारपात, भान्साको कुहिने फोहोर, खेतबारिका बालि अवशेष तथा अन्य कुहिने वस्तुहरूलाई खाडल वा थुप्रोमा कुहाएर बनाइएको मललाई कमपोष्ट मल भनिन्छ।

  • जम्मा गरिएका सबै प्राङगारिक वस्तुहरूलाई स-साना टुक्रा हुने गरि काट्ने।
  • गाई-भैँसिको मलमूत्र, वनको माटो, पुरानो कमपोष्ट खाडलको माटो, चुना, युरिया, खरानी पनि मिसाउने।
  • सबै प्राङगारिक वस्तुहरूमा उपयुक्त मात्रामा चिस्यान हुनुपर्छ।
  • हिउँदमा खाडल बिधि (१ मि. गहिरो) तथा बर्षामा थुप्रो बिधि अपनाउनुपर्छ।
  • खाडल वा थुप्रो बनाएपछि माटोले लिप्नुपर्छ।
  • मल राम्रो र छिटो तयार गराउन कमपोष्ट मललाई पल्टाउनुपर्छ। मल राखेको १.५ महिनामा पहिलो पटक र २.५ महिनामा दोश्रो पटक गरि कुल दुई पटक सम्म पल्टाउनपर्छ। धेरै जाडो हुने स्थानमा तीन पटक सम्म पल्टाउनपर्छ।
  • ३ महिना पछि मल प्रयोगको लागि तयार हुन्छ।

४.२. भर्मिकमपोष्ट मल बनाउने तरिका

  • १ मि. चौडाई , ०.६ मि. उचाई र आवश्यकतानुसारको लम्बाई राखि खाडल बनाउने।
  • भुईँ एकातिर भिरालो हुने गरी ढलान र प्लाष्टर गर्ने र होचो भागतिर सानो पाइप राख्ने।
  • खाडललाई एउटा छानोले छाउने।
  • सबैभन्दा तल चिसो घाँस-पराल राख्ने (५ इन्च) र त्यसपछि २० दिनको तातो गोबरलाई सेलाएर राख्ने (५ इन्च)। यसरि तह-तह बनाउने र माथिल्लो तहमा गोबर ग्याँस स्लरी राख्ने।
  • त्यसपछि एक कुनाबाट गड्यौँला छोड्ने र जुटको बोराले छोपेर हल्का पानी छम्किने।
  • लसुन, प्याज, माछामासु र नगल्ने वस्तुहरू खाडलमा राख्नु हुँदैन।
  • ६०-६५% चिस्यान, अधिकतम ३५⁰C र न्यूनतम १०⁰C हुनुपर्छ। जुटको बोरालाई भिजाइराख्नुपर्छ।
  • खाडलको पानी पाइपबाट बाहिर निकास हुन्छ र यसलाई Vermiwash भनिन्छ। पातलो पानी आएमा खाडलमै खन्याउने र बाक्लो पानी आएमा सङकलन गरेर प्रयोग गर्न सकिन्छ।
  • मल तयार भएपछि ३ mm को चाल्नाले चालेर मल रगड्यौँला छुट्टाउने।
  • यसरी भर्मिकमपोष्ट मल तयार हुन्छ।

५. सिंचाईँ व्यवस्थापन

ड्रिप सिंचाईँ प्रविधि कौसि खेतिको लागि उपयुक्त हुन्छ।ड्रिप सिंचाईँ प्रविधिका फाईदाहरू:

  • ५०% भन्दा धेरै पानीको बचत
  • बिरूवाको जराको क्षेत्रमा मात्रै पानी पुग्ने
  • माटोको पौष्टिक तत्व लिचिङ नहुने
  • मल पनि सँगसँगै प्रयोग गर्न सकिने। (Fertigation)

कौसि खेतिको लागि घरको छतको ढलान जल प्रतिरोधि हुनुपर्छ।

६. रोगकिरा व्यवस्थापन

हरेक कौसि खेति कृषकले बुझ्नैपर्ने कुरा:

  • सबै किराहरू हानिकारक हुँदैनन्। कृषकले शत्रुजीव र मित्रजीव छुट्याउन सक्नपर्छ।
  • शत्रुजीव शाकाहारि हुनाले बालि नष्ट गर्छन र मित्रजीव मांसाहारि हुनाले शत्रुजीवलाई नष्ट गर्छन।
  • लाइ किरा, पतेरो, खुम्रे किरा , औसा, पुतलीको लार्वा आदि शत्रुजीव हुन्।
  • माहुरी, बारूला, सात थोप्ले खपटे किरा (7 spotted beetle), माकुरा आदि मित्रजीव हुन्।
  • कौसि खेतिमा रसायनिक विषादिको प्रयोग आवश्यक हुँदैन।
  • रसायनिक विषादि प्रयोग गर्दा शत्रुजीव मात्र नभई मित्रजीव पनि मर्छन्।
  • जैविक विषादिका फाईदाहरू:
      • मित्रजीवको सुरक्षा
      • शत्रुजीव बालिनालिको नजिक नआउने
      • माटोको जैविक विविधतालाई बचाउने
      • माटोमा पौष्टिक तत्व थप गर्ने
      • कम लागत/ लागत बिना नै बनाउन सकिने
      • जैविक विषादिको लागि चाहिने सबै सामानहरू सजिलै पाईने

६.१. झोलमल- एक जैविक विषादि एवं जैविक मल

घटक तत्व तथा प्रयोगको दृष्टिकोणका आधारमा झोलमल ३ प्रकारका छन्:

सन्दर्भ झोलमल-१ झोलमल-२ झोलमल-३
घटक तत्वहरू गोठेमल: गाईभैँसिको पिसाब: पानी १:१:१ अनुपातमा मिसाउने। १ लि. JeevatuTM पनि मिसाउने। गाईभैँसिको पिसाब र पानी १:१ अनुपातमा मिसाउने। १ लि. JeevatuTM पनि मिसाउने। असुरो, सिस्नु, तितेपाति, बकाईनो, नीम, सयपत्री, आरू, केतुके, खिर्रो, बनमारा, अदुवा, खुर्सानी, लसुन, प्याज, टिमुर आदि जस्ता विषादिजन्य झारपातलाई थिचेर ड्रममा खाँद्ने र गाईभैँसिको पिसाब र पानी १:१ अनुपातमा मिसाउने। १ लि. JeevatuTMपनि मिसाउने।
तयार हुन लाग्ने समय १५ दिन १५ दिन २१-३० दिन
छान्ने छान्न नपर्ने छान्न नपर्ने छान्न पर्ने
प्रयोग ३ लि. पानीमा १ लि. मिसाएर बोटबिरूवाको फेँदमा अर्थात माटोमा मिल्ने गरि प्रयोग गर्ने। ३ लि. पानीमा १ लि. मिसाएर बोटबिरूवामा छिट्ने अर्थात छर्कने। ३ लि. पानीमा १ लि. मिसाएर बोटबिरूवामा छिट्ने अर्थात छर्कने। स-साना बेर्नाहरूको लागि भने ५ लि. पानीमा १ लि. मिसाएर छर्कने।
प्रयोजन जैविक विषादि(माटोमा बस्ने किराहरूमार्ने) एवं जैविक मलतथा ढुसिनाशक एवं ब्याक्टरिया नाशक

 

जैविक विषादि तथा ढुसिनाशक एवं ब्याक्टरिया नाशक जैविक विषादि तथा ढुसिनाशक एवं ब्याक्टरिया नाशक

 

६.२ JeevatuTM के हो ?

  • यो Effective Microorganisms (EM)को सम्मिश्रण हो।
  • यसमा हुने घटकहरू:
      • Lactic acid bacteria (LAB)
      • Azotobacter
      • Trichodermaspp.
      • Phosphate solubilizing bacteria (PSB)
      • Potassium solubilizing bacteria (KSB)
      • Photosynthetic bacteria
      • Yeast
  • यसको प्रयोगले झोलमल छट्टै तयार हुन्छ।
  • विषरहित र वातावरणमैत्रि हुने।
  • बिरूवालाई पौष्टिकता प्रदान गर्ने।
  • Nepalese Farming Institute को प्राविधिक सहयोगमा JeevatuTM नेपालमै उत्पादन भईरहेको छ।

७. निष्कर्ष :

यसरी हामिले आफ्नै घरमा कौसि खेति गरेर दैनिक उपभोग्य तरकारि ऊब्जाउन सकिन्छ। कौसि खेतिका अनेकन फाईदाहरू मध्य केहि फाईदाहरू यसप्रकार छन्:

  • तरकारी खरिदमा ५०% बचत
  • खालि समयको सदुपयोग
  • विषादि रहित र अर्गानिक सागसब्जि खान पाईने
  • स्वचछ वातावरण
  • मानसिक तनावबाट बचाउने
  • घरका नानी-बाबुहरूलाई टि.भि. , कम्प्युटर, मोबाईलबाट टाढा राखि प्रकृतिसँग समय व्यतित गर्न प्रेरणा मिल्ने
  • घरको सुन्दरता एवं आकर्षण

यसकारण विशेष गरि अहिलेको लकडाउनको परिवेशमा कौसि खेतिको महत्व अझै धेरै अनुभव हुन थालेको पाइएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles